
दाङ, ६ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका विरूद्व भएको बताएका छन् ।
४१ औं नेत्रलाल पौडेल अभागी स्मृति दिवसलाई सम्बोधन गर्न गृह जिल्ला दाङ आएका पोखरेलले राजावादीले गर्ने आन्दोलन कुनै दलका विरूद्व नभइ जनताका विरूद्व भएको बताएका हुन् ।
गणतन्त्रले के दियो ? भन्दै भ्रम फैलाएर जेठ १५ देखि राजावादीले आन्दोलन गर्ने घोषणा गरेका छन् ।
महासचिव पोखरेलले भने,’ त्यो आन्दोलन कुनै राजनीतिक दलका र व्यवस्थाका विरूद्व होइन,नेपाली जनताका विरूद्व हो । हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने ?,’ ।
राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको दाबी गर्दै पोखरेलले गलत कुराका पक्षमा नलाग्न आग्रह गरे । राजावादीले जनतालाई निरंकुशताको जाँतोमुनी पिसेर समाजमा लामो समय शोषणको राज चलाएको भन्दै उनीहरूले गणतन्त्र र जनताको सार्वभौम सत्ता विरूद्व प्रहार गरिरहेको बताएका छन् ।
महासचिव पोखरेलले युवाहरू विदेश गएर देश नबन्ने समेत टिप्पणी गरे । विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने भन्दै देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्ने उनको भनाइ छ । विदेश जानु केहीको बाध्यता भएपनि धेरै रहरले विदेश जाने गरेको पनि बताए ।
‘रहरले विदेश जाने पनि छन्,उनले भने,’झदेश छोडेर देश निर्माणका कुरा गर्नेको संख्या दिनदिनै बढ्दो छ,’ । युवा विदेश पलाएनको क्रम रोक्न एमालेले नेतृत्व गर्ने समेत महासचिव पोखरेलले बताए ।









प्रतिक्रिया