३१ जेष्ठ २०८३, आइतबार

बैतडीमा खुकुरी प्रहारबाट दुई जना घाइते

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ३ जेठ । स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट बैतडीमा दुई जना महिला घाइते भएका छन् ।

पुर्चौंडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले आज बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार आज बिहान धनवीरले दुवै जनालाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छभने दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी प्रवक्ता बडूले जानकारी दिए । खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको लामो समयदेखि घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न गएको जनाउँदै उनले दिनेशलाई खुकुरी प्रहार गर्न गएका धनवीरले निजलाई घरमा नभेटेपछि दुई वृद्धामाथि आक्रमण गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।