
चितवन, ३ जेठ । नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली दिन आज दासढुंगामा स्मृतिसभा सम्पन्न भएको छ ।
एमाले चितवनको आयोजना र मदनभण्डारी फाउण्डेशन चितवनको संयोजनमा भएको सभामा नेता कार्यकर्ताले नेताद्वयको शालिकमा माल्यार्पण गर्नुका साथै शब्दद्वारा श्रद्धासुमन व्यक्त गरेका थिए । दासढुंगा मदन–आश्रितको जिप त्रिशूलीमा खसेको स्थल हो ।
यस अवसरमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीमा वैचारिक क्षमता अद्भूत रहेको चर्चा गर्दै उनमा जुनसुकै कुरा बुझाउनसक्ने क्षमता रहेको बताए । मदन र आश्रितको परिवारले धेरै ठूलो त्याग गरेको बताउँदै उनले भने, “हामीले एक दिन दासढुङ्गामा आएर फूल चढाउँछौँ, तर उहाँहरुको परिवारले अभिभावक र परिवारको मुली गुमाएको छ ।”
एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले ‘जनताको बहुदलीय जनवाद’ तीन दशकको अभ्यासबाट प्रमाणित भइसकेको बताए । जीवराज कुशल संगठक हुनुका साथै आदर्श नेता पनि भएको उनको भनाइ छ ।
एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले जेठ ३ लाई अध्याँरो दिनका रुपमा चित्रण गरे । जीवराजका छोरा डा. सागर न्यौपानेले आजको दिनलाई कालो दिनको सङ्ज्ञा दिँदै षड्यन्त्रपूर्वक देशीविदेशी शक्तिहरुले नेताद्वयको हत्या गरेको बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, जिल्ला अध्यक्ष कमल पाठक लगायतले बोलेका थिए ।
विसं २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्डको दासढुंगामा मदन–आश्रितको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो ।








प्रतिक्रिया