३० असार २०८३, मंगलबार

प्राधिकरणले सूचनाबिना विद्युत् लाइन छाड्दा करेन्ट लागेर एक मजदुरको मृत्यु

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, ३ जेठ । धुलिखेलमा विद्युत्को खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनाको अनुसन्धानका लागि कार्यालयबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।

तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाबिना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ ।

विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि त्यसक्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले लाइनको वरिपरी गाईवस्तु नछाड्न, विद्युत्को खम्बालगायतका विद्युतीय सामग्री नछुन सार्वजनिक आह्वान गरेको थियो ।

मृतक परियारको शवलाई खम्बाबाट निकालेर शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।