३ श्रावण २०८३, आइतबार

अव्यवहारिक कानुनहरू संशोधन गर्न आवश्यक : महासचिव पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालका धेरै कानुन अव्यवहारिक भएको बताएका छन् ।

एमाले केन्द्रीय कार्यालयद्वारा आयोजित वर्तमान आर्थिक अवस्था र आगामी बजेट सन्दर्भमा एमालेसँग उद्योगी व्यावसायीको अन्तरक्रिया कार्यक्रम बोल्दै महासचिव पोखरेलले कतिपय कानुन विकासका कामलाई रोक्ने र काम गर्नेलाई उल्झनामा पार्ने खालका भएको उनको धारणा छ । सरकारको काम गर्नका लागि सरकारले नै पैसा तिर्नु पर्नेसम्मका कानुन अहिले पनि विद्यमान रहेका उनले बताए । ‘अव्यवहारिक कानुनहरू नेपालमा छन्, त्यसलाई सुधार गरेर जानुपर्छ’, उनले भने ।

मुलुकलाई के असर गर्दछ भन्ने कुराको ख्याल नगरी विभिन्न अन्तर्राष्ट्रिय सन्धि र कानुनमा आँखा चिम्लिएर सही गर्दा समस्या भएको उनले बताए । त्यस्ता कानुनहरू संशोधन गर्न आवश्यक रहेको पोखरेलको धारणा छ । ‘हाम्रा कानुन जहिले विकासको लागि बाधक बने’, उनले भने ।

कानुन सुधार नगरी अघि बढ्न सकिँदैन भन्ने कुरामा राजनीतिक नेतृत्व आइपुगेको भए पनि कर्मचारी संयन्त्रलाई परिवर्तन गर्न अझै निक्कै गाह्रो रहेको उनको धारणा छ । यी सबै काम गर्नको लागि देशमा बलियो राजनीतिक शक्ति आवश्यक पर्ने उनको धारणा छ ।

राज्य र सरकारलाई सफल बनाउन निजी क्षेत्रको महत्पूर्ण भूमिका हुने उनले बताए । निजी क्षेत्र असफल हुँदा राज्य पनि असफल हुने उनको धारणा छ ।