
काठमाडौं, १ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विश्व वातावरण संरक्षणमा नेपालको ठूलो योगदान रहेको बताएका छन् ।
एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागद्वारा मंगलबार काठमाडौंमा आयोजित सगरमाथा संवादको स्थानीयकरण, जलवायु सशक्तीकरण र विपद् न्यूनीकरणको लागि राजनीतिक प्रतिबद्धता विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अन्तर्राष्ट्रिय समुदायले उत्सर्जन गरेको कार्बनको मार नेपाल जस्ता मुलुकले खेप्नु परेको बताए । उनले वातावरण संरक्षणमा नेपालले गरेको योगदानको मूल्य पाउनुपर्ने दाबी गरे । ‘अन्तर्राष्ट्रिय समुदाय यसमा जति गम्भीर हुनु पर्ने हो, त्यति गम्भीर भएको देखिँदैन’, उनले भने ।
सगरमाथा संवाद वातावरण परिवर्तनमा विकसित राष्ट्रले गरेको कार्बन उत्सर्जनको प्रभाको बारेमा ध्यानाकर्षण गर्न सक्षम हुनुपर्ने उनको धारणा छ । वातावरण परिवर्तनले हिमालको अवस्था निक्कै जोखिमपूर्ण रहेको उनले बताए । ‘हिमाली क्षेत्र वातावरण परिवर्तनको सबैभन्दा जोखिममा छ, हिमाली क्षेत्रमा रहेका हाम्रा मानव वस्तिहरू सबैभन्दा जोखिमपूर्ण छन्, ती क्षेत्रमा बनेका पूर्वाधार पनि जोखिमपूर्ण छन्’, महासचिव पोखरेलले भने ।
उनले अहिले नेपाल विश्वमा सबैभन्दा बढी घरमा ताला लाग्ने मुलुकको सूचिमा पर्न लागेको बताए । विश्वमा घरबार विहीन नागरिक धेरै भएका बताउँदै उनले नेपालमा एकै व्यक्तिका एकभन्दा बढी घर भएका पोखरेलको भनाइ छ । त्यसैले यस मामला नेपाल धनी पनि रहेको उनले बताए ।
पहाडी क्षेत्रमा जमिनको खनजोत घट्दै जाँदा डढेलो जोखिम अझ बढ्दै गएको उनले बताए । यो नेपालको विपत्तिको क्षेत्रमा अर्को ठूलो जोखिमको रूपमा रहेको महासचिव पोखरेलको धारणा छ ।








प्रतिक्रिया