८ असार २०८३, सोमबार

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, १ जेठ । यहाँको मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट चोरी भएका ल्यापटप एक वर्षपछि फेला परेका छन् । ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्ध गराइएका ११ वटा ल्यापटपमध्ये हराइरहेका आठवटा ल्यापटप फेला परेका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।

विद्यालयलाई हस्तान्तरण भएको केही समयमै अर्थात् २०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरिएको थियो । घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो । खोजीका क्रममा तीनवटा ल्यापटप मात्र बरामद भएका थिए ।

प्रहरी, शिक्षक र वडाअध्यक्षको टोलीले सोही वडाको पित्तोलुङ भन्ने स्थानमा बाँकी आठवटा ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला पारेको अध्यक्ष वनेमले बताए । विद्यालयजस्तो पवित्र ठाउँबाट यस किसिमका सामुदायिक सम्पत्तिको चोरी हुनु निकै निन्दनीय र चिन्ताजनक विषय भएको उनको भनाइ छ ।

घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न र यस्ता अपराधीलाई संरक्षण नगर्न सरोकारवालाहरूलाई वनेमले आग्रहसमेत गरे ।