७ श्रावण २०८३, बिहिबार

निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडिखोलाको पुल

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २७ वैशाख । निर्माणको करिब अन्तिम चरणमा पुगेको मन्थलीको तामाकोसी नदी माथिको पक्की पुल भाँचिएको छ ।

मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोसी नदी माथिको ठेडिखोला पुल शुक्रबार अपराह्न भाँचिएको हो । यो पुलको अन्तिम स्पानको ढलान सकिएको केही दिनमा नै पुल भाँचिएको हो ।

कूल २ सय ३० मिटर लामो र ११ मिटर चौडा पुलमा ४ वटा स्पान छन् । दुई वटा स्पान यसअघि नै तयारी भइसकेको पुलको बीचको स्पान अन्तिम ढलान गरिएको थियो । ढलान सकिएको केही दिनमा पुल क्रर्याक भएको छ ।

संघीय सरकार सडक विभाग पुल महाशाखामार्फत पुल निर्माण भएको हो । यो वर्षा अगाडि नै पुल सञ्चालन गर्ने तयारी थियो । तर अन्तिम समयमा आएर पुल नै भाँचिएपछि निर्माण कार्यमा अन्यौलता थपिएको छ ।

पुल निर्माणका लागि २०७८ सालमा कालिका–कल्पवृक्ष जेभिले ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणका लागि भ्याट र पिएस बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

पुल भाँचिनुको कारण खुलेको छैन । निर्माण कम्पनीले तत्काल विज्ञ टोली ल्याएर क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने भएको छ । त्यसपछि पुल पूरै भत्काएर बनाउनु पर्ने वा रिपेयरिङ गर्न सकिने खुल्ने छ ।

यो पुल रामेछापबाट खाँडादेवी गाउँपालिकाको सित्खा हुँदै काठमाडौं जाने सबैभन्दा छोटो बाटोको पुल हो । मन्थलीबाट खाँडादेवी, दोरम्बा र सुनापति गाउँपालिका जान पनि यो पुलबाट छोटो दुरी पर्दछ ।