
काठमाडौं, २४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखापत्रलाई सार्वजनिक सेवा प्रकाशनमा लानुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव समारोहमा उनले गोरखापत्र पुरानै ऐनले शासित रहेको भन्दै यसलाई सार्वजनिक सेवा प्रकाशनमा लानुपर्ने र त्यसको लागि नीति बनाउनु पर्ने बताएका हुन् ।
उनले भने, ‘गोरखापत्र अहिले पनि पुरानै ऐनले शासित छ । राजा महेन्द्रको समयमा बनेको कानून अझै पनि छ । त्यसकारण अब सार्वजनिक सेवा प्रकाशनको नीतिकस्तो हुनुपर्छ त्यो पनिबनाउनु पर्ने छ । त्यसपछि यो संगठनलाई बलियो बनाएर, संरचनालाई बलियो बनाएर संरक्षण गर्नुपर्ने छ यो पनिहामीले गर्नुपर्ने काम छ । यति काम गर्यो भने गोरखापत्र संस्थान हरेक चुनौतीको सामना गर्न तयार हुन्छ ।’
यस्तै, उनले अहिले ४५ भाषामा प्रकाशन भएको गोरखापत्रलाई अझ थप्दै लानुपर्ने पनि बताए ।
उनले भने, ‘अब हाम्रो गोरखापत्र सबै जनताको लागि हुनुपर्छ । त्यस कारण अहिले ४५ भाषामा प्रकाशन भएको छ यसलाई अझ थप्दै लानुपर्छ । एक पाना भएको ठाँउमा दुई पाना हुन्छ त्यसले केही फरक पर्दैन । यस्तो भयो भने सबैले गोरखापत्र हाम्रो पत्रिका हो भन्छ । हाम्रो भाषा, पहिचान र नेपालको पक्षमा गोरखापत्र छ भन्ने कुरा पुष्टि गर्ने बेलापनि अहिले आएको छ । त्यो रुपमा गोरखापत्रलाई अझ विकास गर्नुपर्ने छ ।’
चुनौतिभित्र ठूलो अवसर हुन्छ भन्ने कुरा स्वीकार गरेर पनि अगाडि बढ्नुपर्ने उनको भनाई छ ।









प्रतिक्रिया