२४ असार २०८३, बुधबार

जबजको मार्गदर्शन युवा पुस्तामा हस्तान्तरण गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २० वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शन र सिद्धान्तलाई युवा पुस्तामा हस्तान्तरण गर्न सके मात्र गणतन्त्र र राष्ट्रियतालाई जीवन्त पार्न सकिने धारणा राखेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारणसभा तथा श्री चन्द्र शर्मा स्मृति सम्मान कार्यक्रमको आज हेटौंडामा उद्घाटन गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकमा नयाँ सोच र चिन्तनका साथ जनतालाई सामाजिक र आर्थिक क्षेत्रमा रुपान्तरण गर्न राजनीतिक दलहरूले समीक्षा गरेर अघि बढ्नुपर्ने चुनौती आएको उल्लेख गरिन् । उनले जनताले केही दशकदेखि जनताको बहुदलीय जनवादलाई निर्वाचनको माध्यमबाट अनुमोदन गरिसकेकाले प्रमुख दलहरूले सत्ता प्राप्तिको प्रतिस्पर्धाको भन्दा जनताको समस्यालई पहिचान गरेर समाधानका लागि केन्द्रित हुँदै विकासका लागि राजनीति गर्न आह्वान गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसनले आगामी दिनमा जनताका माझमा पुगेर गरिब, विपन्न तथा अल्पसङ्ख्यक महिलाहरूको पाठेघरको उपचार गर्न तथा जबजको सैद्धान्तिक पक्षमाथि प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याउन पनि जोड दिइन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विसं २०४७ मा घोषणा गरिएको नेपालको संविधान, २०४७ लाई करिब २७ बुदाँको आलोचनात्मक समर्थन गरेको उल्लेख भए पनि त्यसको सार्थक रूपमा विसं २०६२/६३ को जनआन्दोलनबाट गणतान्त्रिक व्यवस्था ल्याउँदाको सफलताबाट प्राप्त भएको स्पष्ट पारिन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधान, २०७२ को मर्मअनुसार स्थायी सरकारको संरचनाअनुसार निर्वाचनको माध्यमबाट प्रदेश सरकारको गठन भइसकेको उल्लेख गर्दै सङ्घीय, प्रदेश र स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता, विकास, आर्थिक रुपान्तरणका लागि राष्ट्रिय गौरवको आयोजना, बहुवर्षीय योजनाको छनोट गरी बजेट विनियोजित गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले अहिले बजेटमा कृषि उत्पादन र पशुपालनलाई उच्च प्राथमिकता दिएको बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्यद्वय रामेश्वर राना र केदार न्यौपाने, एमाले बागमती प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र मदन भण्डारी फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालले मदन भण्डारीको जबजले नेपाली कम्युनिष्ट आन्दोलन तथा प्रजातान्त्रिक शक्तिहरूका बीचमा सहकार्य गरी अघि बढ्न प्रेरणा दिएको उल्लेख गरे । सङ्घीय सरकारमा बस्ने नेतृत्वले आफ्नो कमीकमजोरीलाई सुधार गरेर जनतालाई सुशासन दिनेतर्फ पहल गर्नुपर्ने उनीहरूले सुझाव दिएका थिए ।

फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रवती पनेरुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जिल्लास्थित मदन भण्डारी फाउन्डेसनको आजै पदाधिकारी र सदस्यहरूको निर्वाचन सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष खुलालले जानकारी दिए ।