
काठमाडौं, १७ वैशाख । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता जारी रहेको छ ।
हिजो राति अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो २ बजेबाट पुनः वार्ता सुरू भएको हो । वार्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको नेतृत्वमा शिक्षा मन्त्रालयमा जारी रहेको छ ।
जारी वार्तामा गृहमन्त्री रमेश लेखक पनि प्रवेश गरेका छन् । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगेपछि पहिलो चरणमा मन्त्रिपरिषद्बाट निर्णय गराउने योजना रहेको छ ।
दोस्रो चरणमा भने संसद्बाट विधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता भएको हो । यद्यपी, वार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ बजेदेखि नयाँ बानेश्वर, माइतीघर खण्डमा जारी राखेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।








प्रतिक्रिया