३२ असार २०८३, बिहिबार

प्रेस चौतारी झापाद्वारा ‘अग्रजलाई सुनौँ’ कार्यक्रमको थालनी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, ११ वैशाख । प्रेस चौतारी नेपाल झापाले ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी गरेको छ । अग्रज पत्रकार समवेदना कार्यक्रमका प्रस्तोता शिरो सान्दाई खतिवडालाई सुन्दै कार्यक्रमको थालनी गरिएको हो । नयाँ पुस्तालाई अग्रजहरुबाट प्रेरणा प्रदान गर्ने, अनुभव सुनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

प्रेस चौतारी झापाले तीन/तीन महिनामा जिल्लाका अग्रजहरुको अनुभव सुन्ने कार्ययोजना बमोजिम आज पहिलो अग्रजको रुपमा खतिवडाको अनुभव सुनेको झापा शाखाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए ।

अग्रज पत्रकार खतिवडा कञ्चनजंगा एफएमबाट प्रशारण हुने समवेदना कार्यक्रमका प्रस्तोता हुन् । समवेदना कार्यक्रमको प्रस्तोताका रुपमा पहिचान बनाउन सफल उनले १८ वर्ष उक्त कार्यक्रम सञ्चालन गरेका थिए । बीबीसीले समेत विश्व मै फरक किसिमको कार्यक्रम (समवेदना) सञ्चालन गरेको भन्दै खोजमुलक समाचार प्रकाशन गरेको खतिवडाले अनुभव सुनाए ।

तीन दशक प्राध्यापन पेशामा सक्रिय खतिवडाले पत्रकारितासँगको आफ्नो सम्बन्ध, समवेदना कार्यक्रम सञ्चालनका स्मरणहरु सुनाए । जिवित मान्छेहरुको समेत निधन भएको खबर समवेदनामार्फत प्रशारण भएका घटना र त्यसपछि आइपरेका समस्याहरुको बारेमा समेत जानकारी गराए । ती घटनाहरुका कारण सूचनाको जाँच गर्नुपर्ने कुरामा आफू सचेत भएको उनले बताए ।

झापाको शान्तिनगर क्षेत्र, प्राध्यापन पेशा र मिडिया क्षेत्रसँग जोडिएको विषयहरुलाई सारमा राखेका खतिवडाले दुई वर्षदेखि समवेदनाहरु प्रशारण गर्न नपाएकोमा दुःख व्यक्त गरे । उनले समवेदना कार्यक्रम कै कारण सामाजिक रुपमा सम्बन्धहरु विस्तार भएको र मानसम्मान पाएको सुनाए ।

मिडिया क्षेत्रमा मेहनत र लगनशिलताको आवश्यकता भएको बताउँदै उनले नयाँ पुस्ताहरुले मिडियामार्फत समाजलाई योगदान गर्न आएकोमा धन्यवाद समेत व्यक्त गरे । ‘पत्रकार महासंघको निर्वाचनमा मात्रै मलाई बोलाइन्छ, अन्य कार्यक्रमहरुमा वास्ता छैन,’ उनले भने– ‘प्रेस चौतारीको औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी भएको छु ।’ उनले चौतारीले सुरु गरेको अग्रजलाई सुन्ने कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिए ।

पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानले अग्रजलाई सुन्ने कार्यक्रमले पुराना पत्रकारहरुको सिकाई तथा अनुभवहरु नयाँ पत्रकारले प्रत्यक्ष रुपमा सुन्न पाएको बताए । उनले यो कार्यक्रममार्फत पुस्ताबीचको दूरी घटाउन मद्दत पुग्ने बताए । अग्रज पत्रकार खतिवडाको अनुभवले नयाँ पुस्तालाई प्रेरणा मिल्ने न्यौपानेको धारणा थियो ।