
काठमाडौं, ११ वैशाख । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवस नेपालीको ठूलो चाड र खुसीको दिन भएको बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा (एमाले)ले आयोजना गरेको युथ सेलिब्रेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख ११ निरङ्कुशता पराजय र लोकतन्त्रले जितेको दिन भएको बताए । त्यसैले यो दिनलाई उत्सवको रूपमा मनाउनु पर्ने उनको धारणा छ ।

निरङ्कुश व्यवस्थाको कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको उनले बताए । त्यसका विरुद्ध अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको प्रधानमन्त्री ओलीले सुनाए । अब देश युवाले बनाउनु पर्ने उनको भनाइ छ ।
अहिले जनताको बलिदान र सङ्घर्षको अपमाना गर्ने र मजाक उडाने काम केही व्यक्ति र समूहले गरेको उनले बताए । सामन्ती व्यवस्थालाई पुन फर्काउने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने काम गरिएको अध्यक्ष ओलीले सुनाए । ‘जङ्गली मात्र होइन राक्षसी प्रवृत्ति देखाउनेहरूले कस्तो शासन गर्न खोजेका छन् भन्ने प्रष्ट भएको छ’, ओलीले भने ।
आज युवालाई भड्काउने अनेक प्रयास भइरहेका उनेले बताए । केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देश भरका मानिसलाई भड्काउने प्रयास भएका भन्दै उनले यसमा सचेत हुनुपर्ने बताए । यी सबै कुरालाई बुझेर युवा सही बाटोमा अघि बढ्नु पर्नेमा उनले जोड दिए । ‘अबको समय देशमा युवाको समय हो’, ओलीले भने ।
लोकतन्त्रमा पनि केही गलत प्रवृत्ति देखाएका बताउँदै उनले त्यसबाट देश केही समय अलमलमा परेको बताए । अब भ्रममा होइन स्पष्ट दृष्टिकोणका साथ देश अघि बढ्नु पर्नेमा ओलीले जोड दिए ।
प्रधानमन्त्री ओलीले प्राप्त उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नु पर्ने बताए । ‘युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ’, उनले भने । एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्त्वहरू एमालेविरुद्ध खनिएका उनले बताए । त्यस्ता शक्तिले एमाले विरुद्ध हरेक दिन भ्रम फिँजाउने गरेको उनको भनाइ छ ।
एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्षका साथ बनेको उनले बताए । सरकारतिर होइन चुनावतिर ध्यान दिन उनले आग्रह गरे । एमालेका युवालाई मिसन २०८४ मा ध्यान दिन उनले आग्रह गरे । मिसन २०८४ एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने मिसन भएको उनले बताए । सोही अभियानमार्फत देश बन्ने र बनाउने उनले बताए ।
देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्त्वसँग सचेत हुन पनि उनले आग्रह गरे । समाजलाई विभाजन गर्ने तत्त्वसँग सचेत भएर अघि बढ्नु पर्नेमा उनले जोड दिए । ‘नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन्, महान् नेपालका नेपाली युवा त्यस अनुसार अघि बढ्ने छन्, यसको नेतृत्व नेकपा एमालेले बाटो नबिराई गर्ने छ, गर्न सक्छ’, प्रधानमन्त्री ओलीले भने ।









प्रतिक्रिया