
काठमाडौं, ११ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलेले राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा एमालले आयोजना गरेको युथ सेलिब्रेशन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गरे । ‘तपाईंहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ’, उनले भने ।
देशमा राजनीतिक अस्थिरता हुँदा राष्ट्र निर्माणले गति लिन नसकेको बताउँदै उनले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताए । त्यो अभिभारा एमालेले पूरा गर्न सक्ने उनको धारणा छ । ‘युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छ, युवाको भविष्य सुरक्षित गर्दछ’, महासचिव पोखरेलले भने । उनले आउने बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने जानकारी दिए । वर्तमान प्रधानमन्त्रीको युवाप्रतिको अगाध स्नेह रहेको उनको भनाइ छ ।
एमाले देश र विकासको पक्षमा उभिएको कारण एमालेमाथि आक्रमण भएको उनले बताए । एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम अहिले धमाधम अघि बढेको उनले उल्लेख गरे । एमालेलाई शिक्षक र कर्मचारी विरोधी भनेर प्रचार गर्न खोजिएको प्रति पनि उनले आपत्ति जनाए । जनताको पक्षमा काम गर्ने माथि भरोसा गर्न उनले आग्रह गरे ।
देशका दुई ठूला पार्टी मिलेर अहिले दशलाई अघि बढाउने प्रयत्न गरिरहेको बताउँदै उनले अहिले दुईवटा पार्टी मिलेकाले धेरे ऐनहरू अघि बढाएका बताए । ‘हरेकले विश्वास र भरोसा गर्नुपर्दछ’, उनले भने ।
आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदै छन् भन्ने भ्रमलाई चिरेको उनले बताए । देश भरका युवाहरू नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनु पर्ने उनको धारणा छ ।
उनले नेपाल राष्ट्र युवाको राष्ट्र भएको बताए । श्रम गर्न सक्ने लाखौँ लाख युवा नेपालमा भएको उनले प्रष्ट पारे । कर्मजीवी युवामा आशा र विश्वास सञ्चार गरेर समृद्ध राष्ट्र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
उनले वैशाख ११ हिंसाको राजनीतिबाट देश शान्ति प्रक्रियाबाट अघि बढेको दिन, राजतन्त्रकोले जनता सामु घुँडा टेकेको दिन भएको उनले बताए । त्यसैले यो दिनको विशेष महत्त्व भएको उनले प्रष्ट पारे ।
युवाको काँधमा नेपाली जनतालाई खुसी बनाउने जिम्मेवारी आएको उनले बताए । राष्ट्रलाई कमजोर बनाउन चाहने शक्तिहरूलाई पराजित गर्दै नेपाली युवा अघि बढ्नुपर्नेमा महासचिव पोखरेलको जोड छ ।









प्रतिक्रिया