
काठमाडौं, ११ वैशाख । युवा चिकित्सक डाक्टर आनन्द सिंहले नेपालमा केही भएको छैन भन्नेलाई उदाहरणसहित जवाफ दिएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बहिबार भृकुटीमण्डपमा नेकपा (एमाल)ले आयोजना गरेको युथ सेलिब्रेशन कार्यक्रममा बोल्दै सिंहले एउटा दुर्गम गाउँमा जन्मिएको सामान्य परिवारको मानिसले राजधानीको भव्य मञ्चमा बोल्न पाउनु लोकतन्त्रको सुन्दरता भएको बताए । ‘लोकतन्त्र सुन्दर छ, यो मैले मान्नु पर्छ, तपाईँले मान्नु पर्छ, सबैले मान्नु पर्छ’, उनले भने ।
फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कारका नेपालीलाई एकताले एउटै डोरीमा बाँधेर राखेको उनले बताए । एकता सधै कायम हुँदा मात्र देश बन्ने उनले बताए । एकता भावनामा मात्र होइन विचार, बौद्धिकता र समावेशितामा पनि हुनु पर्ने उनको धारणा छ ।

संविधान निर्माण भइसकेपछि नेपालले निक्कै प्रगति गरेको उनले बताए । एक दशकमा नेपालमा उल्लेखनीय काम भएको उनको ठम्याई छ । राष्ट्र निर्माणको कामलाई अझै गुणात्मक रूपमा अघि बढाउन आवश्यक रहेको बताउँदै उनले यसमा युवा सहभागिता आवश्यक रहेको स्पष्ट पारे । ‘युवाको सही परिचालन हुन आवश्यक छ, सानोभन्दा सानो काम गरेर युवा आत्मनिर्भर बन्नु पर्दछ’, उनले भने ।
सिंहले युवालाई निराश नहुन आग्रह गर्दै नेपालमा धेरै अवसरका बाटोहरू खुल्दै गएको बताए । नेपाली कलेजहरूमा विदेशीहरू समेत अध्ययन र तालिमका लागि आउने गरेका उनले सुनाए । यो नेपालको ठुलो उपलब्ध भएको सिंहको धारणा छ । स्वास्थ्य बीमा विश्वका थोरै राष्ट्रले गरेको लोककल्याणकारी काम नेपालमा भइरहेको उनको भनाइ छ ।
नेपाल अब सुरुङ युवामा प्रवेश गरेको भन्दै उनले यसले समृद्धिको आधार तयार गरेको बताए । धेरै विकसित देशभन्दा नेपाल पछाडि रहेको स्विकार्नु पर्ने बताउँदै उनले नेपालले सार्वभौमसत्ताको प्रयोग नै २ सय वर्षभन्दा पछि गरेको कारण यो अवस्था आएको सिंहले बताए ।
युवाले सकारात्मक सोच राख्नु पर्ने बताउँदै उनले युवा सकारात्मक सोचका साथ अघि बढ्ने हो भने देश सही दिशामा अघि बढ्ने बताए ।









प्रतिक्रिया