३० आश्विन २०८३, शुक्रबार

बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती, १० वैशाख । बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व सङ्कलन हुन नसकेको हो ।

घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकामा नौ महिनामा १६ अर्ब ७४ करोड २० लाख ८६ हजार रुपैयाँ मात्र सङ्कलन भएको छ ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसनबाट सात अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा तीन अर्ब ३९ करोड ७१ लाख ७० हजार रुपैयाँ सङ्कलन भएको छ ।

त्यसैगरी, सवारीसाधन जाँचपास, ‘रुट परमिट’, सवारीचालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकरबापत आव २०८१/८२ मा सात अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण भएकामा नौ महिनामा चार अर्ब ९३ करोड ५४ लाख ८९ हजार रुपैयाँ मात्र सङ्कलन भएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट)बापत आठ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा पाँच अर्ब ६४ करोड ८१ लाख रुपैयाँ सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत तीन अर्ब ६९ करोड ३६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा एक अर्ब ९२ करोड ४१ लाख २१ हजार रुपैयाँ मात्र असुली भएको छ ।