
रौतहट, ७ वैशाख । रौतहटका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको छ ।
यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउने सरकारले तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा प्रभावित बनेको हो । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भइसकेको छ ।
सरकारले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुनेगरी भर्ना अभियान सञ्चालन गर्न/गराउन भनिएको छ । तर यहाँ शिक्षक, भर्ना अभियानभन्दा पनि आफ्नो माग पूरा गर्नका लागि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् ।
गत चैत २० गतेदेखि समुदायिक विद्यालयको शैक्षिक गतिविधि बन्द गरेर शिक्षक सडक आन्दोलनमा गएपछि विद्यालय भर्ना अभियान शुन्य झैँ भएको एक विद्यालयका अभिभावक रामएकबाल साहले बताए ।
‘समुदायिक विद्यालयका शिक्षकले शैक्षिक गतिविधि बन्द नगरी आफ्नो माग सम्बन्धित निकायमा राख्न सक्छ्न,’ उनले भने; ‘यो किसिमको आन्दोलन आवश्यकता नै छैन ।’ यद्यपि सरकार पनि शिक्षकका जायज मागको चाडैँ नै सम्बोधन गर्नुपर्ने उनको तर्क छ ।
शिक्षक महासङ्घको नेतृत्वमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै समुदायिक विद्यालय शिक्षक दुई सातादेखि काठमाडौं केन्द्रित आन्दोलन हुँदा नीजि विद्यालयले भने भर्ना अभियानलाई प्रभावकारी बनाएको छ ।
चन्द्रपुरमा रहेको नमुना आवशिय विद्यालयका सञ्चालक लोक श्रेष्ठका अनुसार आफुहरुले नियमित कार्यतालिका अनुसार विद्यालय भर्ना अभियान गरिएको छ । ‘पहिलेका वर्ष जस्तै विद्यार्थी भर्ना भएका छन्,’ उनले भने; ‘खासै बढेको पनि भन्न मिल्दैन ।’ नयाँ शैक्षिक सत्रको पठनपाठन पनि सुरु गरि सकिएको उनको भनाइ छ ।
नयाँ शैक्षिक क्यालेण्डर अनुसार विद्यालयका शैक्षिक गतिविधि अघि बढाउँदै लैजाने उनले बताए । तर यहाँका अधिकांश सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पठन पाठनसँगै दिवा खाजा र छात्रावृति जस्ता कार्यक्रमले विद्यालय भर्ना अभियान प्रभावकारी हुँदै आएको पूर्वशिक्षक अर्जुन दाहालले बताए । विद्यालयमा नयाँ शैक्षिक सत्रका गतिविधिलाई अघि बढाउनुपर्ने समयमा आन्दोलन हुनु दुखद भएको उनको भनाइ छ । सरकारले शिक्षकका माग सम्बोधन गरेर विद्यालयका शैक्षिक गतिविधिलाई अघि बढाउन तत्परता देखाउनु पर्ने उनको बुझाइ छ ।
चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दीपेन्द्र मण्डलका अनुसार यहाँका अधिकांश सामुदायिक विद्यालय बन्द गरेर शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनले भने, ‘विद्यालय भर्ना अभियान पनि प्रभावित भयो । नगर भित्रका विद्यालयमा प्रत्येक वर्ष कक्षा १ मा मात्र ८ देखि ९ हजार विद्यार्थी भर्ना हुने गरेको समुदायिक विद्यालयका अन्य कक्षामा पनि विद्यार्थी भर्ना उल्लेखनीय हुदै आएको भएपनि शिक्षक आन्दोलनले असर परेको छ ।’
चन्द्रपुर नगरपालिका क्षेत्रमा ४६ वटा समुदायिक विद्यालय छन् । सरकारले शिक्षकका माग सम्बोधन नगरेसम्म विद्यालय बन्द रहने यहाका शिक्षकले बताउँदै आएका छन् ।








प्रतिक्रिया