
बिर्तामोड, ६ वैशाख । झापाका सम्पादकहरुले प्रेस स्वतन्त्रतामाथि नै प्रहार हुनेगरी भइरहेको हस्तक्षेपविरुद्ध एक भएको सन्देश दिँदै प्रतिवद्धता सार्वजनिक गरेका छन् । झापाली सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रतिवाद गर्ने जनाउदै ३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
प्रेस चौतारी नेपाल झापाको आयोजनामा शनिबार भएको ‘सम्पादकसँग प्रेस चौतारी’ कार्यक्रममा अधिकांश सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगबाट प्रस्तुत हुने प्रतिवद्धता जनाएका हुन् । अखबार, रेडियो र टिभीको वर्तमान समस्या, चुनौती र अवसर विषय अन्तरक्रियामा सहभागी सम्पादकहरुले आ–आफ्नो धारणा राखेका थिए ।
पत्रपत्रिका, रेडियो र टिभीका सम्पादकहरुको उपस्थितिमा आयोजित कार्यक्रममा सम्पादकहरुले झापाली सञ्चारकर्मीबीच एकता, सद्भाव र सहकार्य गर्ने, कोभिड र आर्थिक मन्दीका कारण समस्याग्रस्त बनेको मिडिया क्षेत्रलाई जीवन्तता राख्न स्थानीय सरकार, उद्योगी व्यवसायी र सरोकारवालासँग सहकार्य गर्ने र पछिल्लो समय भइरहेको प्रेस स्वतन्त्रता विरोधी गतिविधिहरुको प्रतिवाद गर्ने प्रतिवद्धता गरिएको हो ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले तीन बुँदे प्रतिवद्धता जारी गर्दै मिडिया क्षेत्रको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेकोले सम्पादकसँग चौतारी कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
मेरो रेडियोका सञ्चालक एवम् सम्पादक कुमार भट्टराईले प्रस्तुत गरेको ३ बुँदे प्रतिवद्धता प्रस्तावलाई सहभागी सम्पादकहरुले सहमति जनाएका थिए । भट्टराईसहित प्रतिदिनका सम्पादक इन्द्रसिंह राजवंशी, रेडियो विराटको समाचार सम्पादक लिला अनमोल, सुखानीका सम्पादक राजु पाठक, सूर्योदय टिभीका सम्पादक राजु पौडेल, स्वतन्त्र आवाज साप्ताहिकका सम्पादक योगेश खपांगी, रेडियो मन्त्रका सम्पादक एवम् प्रेस युनियनका प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, यलम्बर टाइम्स साप्ताहिकका सम्पादक एवम् प्रेस सेन्टरका केन्द्रीय सचिव दिपीन राई लगायतले मिडिया क्षेत्रको संरक्षणमा सामूहिक एकताको जरुरी रहेको धारणा राखेका थिए ।
सम्पादकहरुले पत्रकारले समाचार सामग्री खोजीमा मेहनत गर्नुपर्ने, प्रविधिको प्रयोग बढाउनुपर्ने, विज्ञापनलाई समाचार बनाउन नहुने, स्थानीय विज्ञापन स्थानीय मिडियाले प्राप्त गर्नुपर्ने, पत्रकारिताको मुल्य मान्यता पालना गर्दै आचरण सुधारमा ध्यान दिनुपर्ने, व्यवसायिक पत्रकारितामा जोड दिनुपर्ने सुझाव दिएका थिए । मिडिया क्षेत्र संकटमा रहेकोले आम नागरिकको आवाजलाई बलियो ढंगबाट उठाउन मिडिया पनि बलियो बन्नुपर्ने धारणा थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारीका केन्द्रीय सदस्य माधव विद्रोहीले मिडिया हाउसलाई पत्रकारहरुले ब्राण्ड बनाउनुपर्ने बताए । ब्राण्ड नबनाएसम्म मिडियालाई बलियो बनाउन नसकिने धारणा व्यक्त गरे । उनले सरकारलाई नागरिकको पक्षमा सेवा प्रवाह गर्नका लागि मिडियाले नै दवाव दिन जरुरी रहेको बताए । उनले संकटका बीच सूचना प्रवाह गरिरहेका पत्रकारहरुलाई उत्साहित भएर काम गर्न भन्दै व्यवस्था विरोधी आवाजलाई स्पेस नदिन आग्रह समेत गरे ।
प्रेस चौतारीका नेता एवम् पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानले झापा जिल्लाको मिडियाको समस्या, चुनौती र अवसरबारे विषय प्रवेश गराएका थिए । चौतारी झापाका उपाध्यक्ष राजु पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।








प्रतिक्रिया