
काठमाडौं, ६ वैशाख । नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले कञ्चनजङ्घा महोत्सवको उद्घाटन कार्यक्रम सकेर फर्कने क्रममा केही व्यक्तिहरूले आफूविरुद्ध नारा लगाएको बताएका छन् ।
सांसद भट्टराईले हिजो गृहजिल्ला ताप्लेजुङमा भएको घटना सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।
‘कार्यक्रम सकेर फर्कनेक्रममा २/४ जनाले मेरा विरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन् । मलाई कुनै दुःख छैन ।’ सांसद भट्टराईले भनेका छन्, ‘सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ । जसले जति जानेको छ वा जे गर्न लगाइएको छ त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौँ । प्रायोजकहरूको हतियार नबनौँ । सामाजिक एकता र सदभाव नबिगारौँ ।’
नेता भट्टराईले प्रदर्शनकारीहरूलाई विवेकले काम गर्न र प्रायोजकहरूको हतियार नबन्न आग्रह गरेका छन् ।

कञ्चनजङ्घा हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा ताप्लेजुङको लेलेपमा हिजोदेखि कञ्चनजङ्घा महोत्सव सुरु भएको छ । उद्घाटन कार्यक्रम सकेर फर्कने क्रममा नेता भट्टराईमाथि ‘नो केबलकार’ समूहले नाराबाजी गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा उद्घाटन भएको महोत्सव वैशाख ७ गते समापन हुनेछ ।








प्रतिक्रिया