
काठमाडौं, ६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले विभिन्न मितिमा गरेको फैसलाविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
आयोगले सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपाल राजभण्डारी विरुद्ध ८० लाख ५२ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा कैद सजाय र जरिवानाको माग दावी गर्दै मुद्दा दायर गरेको थियो । यो मुद्दामा विशेषले २०८१ वैशाख २४ गते फैसला गरेको थियो । फैसलाविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
यस्तै, कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसमेतका प्रतिवादीविरुद्ध आयोगले २८ लाख ३७ हजार दुई सय १७ रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो । यो मुद्दामा विशेषले २०८१ जेठ २० गते फैसला गरेको थियो ।
आयोगले ३८ लाख ७६ हजार दुई सय ७० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा महावै गाउँपालिका कालिकोटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह समेतका प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यस मुद्दामा आयोगले २०८१ भदौ एक गते फैसला गरेको थियो ।
त्यस्तै, आयोगले शैल्यशखिर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट समेतका प्रतिवादी २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ बराबरको भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो । यस मुद्दामा आयोगले २०८० फागुन २२ गते फैसला गरेको थियो ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध १९ लाख दुई हजार दुई सय ३७ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । यो मुद्दामा आयोगले २०८१ असोज ६ गते फैसला गरेको थियो । विशेषले गरेको फैसलाविरुद्ध आयोगले छुट्टाछुट्टै शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।








प्रतिक्रिया