३१ असार २०८३, बुधबार

गठबन्धन बिचमा नै टुट्छ कि भन्ने द्विविधामा पर्नु पर्दैन : योगेश भट्टराई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, २९ चैत । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वर्तमान सत्ता समीकरण पुरै समय जाने बताएका छन् ।

शुक्रबार बिहान ताप्लेजुङमा प्रेस चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले गठबन्धन बिचमा नै टुट्छ कि भन्ने द्विविधामा नपर्न आग्रह गरेका हुन् । ‘यो गठबन्धन आगामी २०८४ को निर्वाचनसम्म जाने छ, यसमा कुनै द्विविधा छैन’, उनले भने ।

बिचमा केही राजनीतिक दलका नेताहरूले गठबन्धन टुटाउन सकिन्छ कि भन्ने प्रयास गरेका भए पनि त्यो सम्भव नभएको उनको भनाइ छ । देशको अस्थिरतालाई स्थिरता तिर लैजान र सुशासन कायम गर्न, भ्रष्टाचारलाई अन्त्य गर्दै विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्य राखेर यो गठबन्धन बनेको उनले जानकारी दिए ।

संसदबाट छिटो छरितो ढङ्गले कानुन बनाउनको लागि पनि यो गठबन्धन बनेको बताउँदै उनले संविधान संशोधन यो सरकारको प्रमुख एजेण्डा भएको र संशोधनका एजेण्डाका विषयमा नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलले आन्तरिक छलफल चलाइरहेका जानकारी दिए । आवश्यक छलफल गरेपछि उपयुक्त समयमा संविधान संशोधनको काम अघि बढाइने उनको भनाइ छ ।

‘सँगसँगै संविधानमा आवश्यक संशोधन गर्ने कुरा पनि हामीले उठाएका हौँ’, भट्टराईले भने। यो गठबन्धनको अर्को एक वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्ने र त्यस पछि शेरबहादुर देउवाले नेतृत्व गर्ने स्पष्ट सहमति भएको सचिव भट्टराइले बताए । सरकारी काममा हुने ढिलाइ अन्त्य गर्न, देशभित्र लगानीको वातावरण बनाउन तथा सुशासन कायम गर्न सरकारले कानुन बनाएको बताउँदै यसले देशमा व्यावसायिक लगानीको वातावरण र सुशासनको लागि आधार निर्माण भएको उनको दावी छ । यस पटक सरकाले परिणाम दिने आयोजना छनोट गरेर बजेटको सुनिश्चितता गर्ने पनि उनले जानकारी दिए ।

विगतको जस्तो कनिका छरेजस्तो बजेट छरेर उपलब्धि नहुने आयोजनामा पैसा खर्च नगर्ने उनले स्पष्ट पारेका छन् । आयआर्जन र उत्पादन वृद्धिका आयोजनामा सरकाले जोड दिने उनको भनाइ छ । पछिल्लो समय भएका अराजनीतिक गतिविधि निन्दनीय भएको भन्दै मुख्य राजनीतिक दलको अगुवाइमा जुन व्यवस्था कायम भएको छ, त्यसमा भएका कमजोरीलाई सच्याउँदै अघि बढ्नु पर्छ भन्ने कुरामा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरू स्पष्ट रहेका उनले धारणा छ ।

व्यक्तिगत र सरकारी सम्पत्ति तोडफोड गर्ने, पार्टी कार्यालयमा आगजनी गर्ने, मानिसलाई ज्युँदै जलाउने कार्य अतंककारी कार्य भएको उनले टिप्पणी गरे । यसका विरुद्ध ठाउँ ठाउँमा जागरण सभा गरिरहेको उनले जानकारी दिएका छन् । शिक्षक महासंघको आयोजनामा भइरहेको आन्दोलनका विषयमा भट्टराईले विगतमा भएका सम्झौता प्रति एमाले प्रतिबद्ध रहेको बताए । तिनै सम्झौताका आधारमा शिक्षा ऐन आउनु पर्ने उनको धारणा छ । विद्यालय शिक्षा ऐनले शिक्षकका माग र समस्या सम्बोधन गर्ने उनले जानकारी दिनुभयो ।

‘आउने बजेट अधिवेशन सुरु हुने बित्तिकै हामी विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पास गरेर राष्ट्रिय सभामा पठाउँछौँ’, उनले भने । नेपालमा सार्वजनिक खरिद ऐन पनि संशोधन गर्न आवश्यक रहेको बताउँदै यही ऐनमा रहेर काम गर्ने हो भने विकासका काम छिटो नहुने उनको धारणा छ ।