२६ असार २०८३, शुक्रबार

विदेशमा रहेका श्रमिकका लागि प्रवासी नेपाली मञ्चले स्थापना गर्‍यो एक करोडको अक्षय कोष

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले विदेशमा रहेका श्रमिकको उद्धार तथा राहतका लागि एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । गत वर्षको फब्रुअरीमा मलेसियामा सम्पन्न भौतिक बैठकको निर्णय कार्यान्वयन गर्दै ओएनएफ अन्तर्राष्ट्रिय कमिटीले मंगलबार कुमारी बैंकमा एक करोड रुपैयाँको श्रमिक उद्धार कोष स्थापना गरेको हो ।

मलेसियामा सम्पन्न बैठकले राहत कोष स्थापनाका लागि कार्यविधि निर्माण र रकम संकलनका लागि अन्तर्राष्ट्रिय कमिटीका सदस्य शालिग्राम पन्तको संयोजकत्वमा समिति गठन गरेको थियो । पन्त नेतृत्वको समितिले एक वर्षमा सबै कार्यविधि पूरा गरेपछि अध्यक्ष सञ्जय थापाको हस्ताक्षरमा काठमाडौंको कुमारी बैंकमा एक करोड रुपैयाँ जम्मा गरी कोषको सुरुवात गरिएको हो ।

ओएनएफ अन्तर्राष्ट्रिय कमिटीले श्रमिक राहत कोष बढाउँदै जाने नीति लिएको छ । यो खाता अध्यक्ष थापा, श्रमिक राहत कोष सञ्चालक समितिका संयोजक शालिग्राम पन्त (बहराइन)को संयुक्त हस्ताक्षरबाट सञ्चालन गरिएको छ । पन्त नेतृत्वको सञ्चालक समितिमा रवि बञ्जाडे (कुवेत) र दीपक सापकोटा (अमेरिका) रहेका छन् ।

प्रवासमा रहेका नेपाली श्रमजिवि पीडित मजदुरको पक्षमा प्रवासी नेपाली मञ्च छ भन्ने सन्देश प्रवाह गर्न गत वर्ष मलेसियाको राजधानी क्वाललम्पुरमा सम्पन्न अन्तर्राष्ट्रिय कमिटीको भौतिक बैठकले कोष स्थापनाको निर्णय गरेको अध्यक्ष सञ्जय थापाले बताए ।

प्रवासी नेपाली मञ्चका अनुसार अन्तर्राष्ट्रिय कमिटी, विभाग र महादेश कमिटीका सदस्यहरुको एक वर्षका लेबी र हाल सञ्चालन भइरहेको राफल सहयोगबाट बचत रकम गरी एक करोडको श्रमिक राहत कोष स्थापना गरिएको हो ।

‘प्रवासमा रहेका नेपालीलाई समस्या पर्दा तत्कालै उद्धार तथा राहतका लागि पहल गर्न सकियोस र सघाउन सकियोस् भनेर प्रवासी नेपाली मञ्चले आज हामीले यो हाम्रो काम सम्पन्न गरेका छौँ । यो निकै ठूलो ड्रिम प्राजेक्ट हो,’ कोष स्थापनापछि अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष थापाले भने, ‘कोष स्थापनाका लागि सघाउने सबै राष्ट्रिय कमिटी र प्रवासी नेपाली मञ्चका सदस्यहरुमा यसको श्रेय जान्छ ।’

अध्यक्ष थापा कोष स्थापनासहित संगठनको अति आवश्यक कामका लागि यतिबेला अमेरिकाबाट नेपाल आएका छन् ।

गत वर्ष अर्थात सन् २०२४ को फेब्रुअरीमा मलेसियामा बसेको मञ्चको भौतिक बैठकले मलेसिया र मध्यपूर्वमा नेपाली नागरिक कामदारको रूपमा गएका र विविध कारणबस पीडित भएका श्रमजिवी मजदुरहरूको समस्यालाई मलम लगाउने सन्दर्भमा बैठकले सुक्ष्म ढंगबाट छलफल गर्नुका साथै श्रमजिवी पीडिढत मजदुरहरूको सहयोगको लागि एक करोड रूपैयाँको अक्षय कोष स्थापना गरी पीडित श्रमिकलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले भौतिक बैठकको निर्णयलाई कार्यान्वयन गर्दै प्रवासमा रहेका नेपाली श्रमजीवी पीडित मजदुरको पक्षमा प्रवासी नेपाली मञ्च छ भन्ने सन्देश प्रवाह गरेको छ । ओएनएफ अन्तर्राष्ट्रिय कमिटीले यस अभियानमा ऐक्यबद्धता जाहेर गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।