२२ असार २०८३, सोमबार

बागमती प्रदेश सभाको बैठक आह्वान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ चैत । बागमती प्रदेश सभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आह्वान गरेका हुन् ।

बैठकमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेश सभाको हिउँदे अधिवेशन अन्तर्गत दोस्रो कार्यकालको पाँचौ अधिवेशनको सातौं बैठक आह्वान गरिएको उनले बताए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेश गरी पारित गर्नुपर्ने भएकाले प्रदेश सभा बैठक आह्वान गरिएको उनले बताए ।

यसअघि प्रदेश सभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत माघ २३ मा २, माघ २४ मा १ र माघ २६ मा २ वटा बैठकहरु सञ्चालन भएका थिए । त्यस पश्चात अनिश्चितकालका लागि स्थगित भएको बैठक २ महिनापछि आह्वान गरिएको हो ।

गत माघ २६ गते बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो भने अन्य ४ विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाएको थियो ।

प्रदेश सभाकी सूचना अधिकारी हेमा न्यौपानेका अनुसार प्रदेशसभाको बैठकले विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेश हुनेछ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संशोधनसहित प्रतिवेदन पेश हुने कार्यसूचि रहेको उनको भनाई छ ।

प्रदेश सभा बैठक आह्वान भएसँगै संसदीय समितिको बैठक समेत बोलाइएको छ । सूचना अधिकारी न्यौपानेका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक चैत १३ र १४ गतेका लागि बोलाइएको छ भने उद्योग पर्यटन तथा वातावरण समितिको बैठक चैत १७ र १८ गते बस्ने तय भएको छ । बैठकले प्रदेश सभामा पेश हुने संशोधन विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिने उनको भनाई छ ।