
जनकपुर, १३ चैत । जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ । होली खेल्ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्हीका १९ वर्षीय आँसु यादवका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड ठप्प पारेका छन् ।
बुधबार विहानैदेखि मुख्य सडक घेरेर उनीहरुले आवत जावत ठप्प बनाएका छन् । १२ दिन बितिसक्दा पनि हत्यामा संलग्न अन्य अपराधीहरुलाई प्रहरीले समात्न नसकेको भन्दै उनीहरुले बाटो बन्द गरेर विरोध जनाएका हुन् ।
चैत २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँसुमाथि छुरा प्रहार गरेका थिए ।
छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँसुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँसुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आँसुको हत्याको अनुसन्धान जारी नै रहेकोले आँसुको परिवारजनलाई धैर्य राख्न आश्वासन दिँदै आएको छ । घटनामा संलग्न कोही पनि नउम्किने जिल्ला प्रहरी कार्यालय धनुषाको दाबी रहेको छ ।








प्रतिक्रिया