
विराटनगर, १० चैत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सपना समृद्धिको आरम्भ भएको बताएका छन् ।
आज विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओली समृद्ध नेपाल सुखी नेपालीको सपना देख्ने नेता भएको बताएका हुन् । ‘नेतृत्व व्यक्तिको इच्छाले मात्र हुन्न आवश्यकताले स्थापित गराउँछ’, उनले भने ।
गौतमले संगठनमा अनुशासन जरुरी रहेको बताए । अनुशासनमा नरहने कार्यकर्ताले संगठन चलाउन नसक्ने उनले स्पष्ट परेका छन् । प्रेस चौतारी नेपाललाई परिणाम दिन सक्ने नेतृत्व आवश्यक रहेको बताउँदै उनले कसलाई कहाँ खटाउँदा राम्रो काम गर्छ भन्ने हेरेर नै जिम्मेवारी दिइने बताए ।
पत्रकारले पस्किने विषयले लोकतन्त्रलाई बलियो बनाउन कति सहयोग गरेको छ भन्ने कुरा हेर्नुपर्नेमा उनले जोड दिएका छन् । अहिले सामाजिक सञ्जाल पढिनक्नुको अवस्थामा रहेको गौतमले सुनाए । ‘सामाजिक सञ्जालले नागरिकको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार नै खोसेको छ’, उनले भने ।
सामाजिक सञ्जालले ज्युदो मानिसको मृत्यु भएको भन्ने सम्मका भ्रामक सूचना प्रवाह गरिरहेका उनको भनाइ छ । यसलाई रोक्न आवश्यक रहेको गौतमले स्पष्ट पारे । सामाजिक सञ्जाललाई नियन्त्रण होइन नियमन गर्न अति आवश्यक रहेको उनले बताए । अहिले एमाले र देश गम्भीर संकटमा रहेको बताउँदै उनले यसलाई जोगाउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उनले प्रेस चौतारी नेपालले एकताबद्ध भएर सक्षम नेतृत्व छान्न पर्ने स्पष्ट पारे ।








प्रतिक्रिया