९ असार २०८३, मंगलबार

अब नेपालमा धेरै होइन, बलिया राजनीतिक दल आवश्यक : शंकर पोखरेल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको राजनीतिको प्रमुख कार्यभार आर्थिक समृद्धि र रूपान्तरण भएको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको बन्दसत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले भइरहेका प्रतिगामी हरकतको सामना गर्नुपर्ने भए पनि यो मुख्य विषय नभएको बताएका हुन् । ‘मुख्य विषय संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र मुलुकलाई आर्थिक, सामाजिक रूपान्तरणको दिशामा लिएर जाने हो’, पोखरेलले भने ।

मुलुकका मुख्य चुनौती र वाधा के हुन् भन्ने बुझेर हाम्रा योजना त्यस तर्फ केन्द्रित हुने पर्नेमा पोखरेलले जोड दिए । आर्थिक, राजनीतिक रूपान्तरणको मुख्य वाधक मुलुकमा विद्यमान अराजकता र राजनीतिक अस्थिरता भएको पोखरेलले बताएका छन् । यसले विकास र समृद्धिको आकाङ्क्षालाई अवरोध गरिरहेको स्पष्ट पारे ।

मुलुक बनाउनको लागि राजनीतिक स्थिरता आवश्यक पर्ने उनको भनाइ छ । बारम्बार सरकार फेरिँदा मुलुक नबन्ने उहाँले स्पष्ट पार्नुभयो । ‘राजनीतिक स्थायित्वको अभावमा मुलुक बन्न सकेन, हाम्रो यथार्थ यही हो’, पोखरेलले भने ।

अब नेपालमा धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दल आवश्यक रहेको पोखरेलले बताए । त्यसको लागि नेकपा एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउन आवश्यक रहेको उनले स्पष्ट पारे ।

राजनीतिक स्थायित्वबाट मात्र उद्योग व्यवसाय क्षेत्र पनि अघि बढ्ने पोखरेलले बताए । राजनीति स्थायित्व नहुँदा सम्म औद्योगिक क्षेत्र विकास हुन नसक्ने पोखरेलले स्पष्ट पारेका छन् ।

नेपालको कृषि क्षेत्रलाई परम्परागत र निर्वाहमुखी बनाई रहँदासम्म नेपालका रोजगारी सिर्जना गर्न नसकिने पोखरेलले बताए । नयाँ प्रविधिको प्रयोगबाट कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न सक्दा मात्र युवा पलायन रोकिने र देशमा उद्यम–व्यवसाय प्रवर्धन गर्न सकिने उनको धारणा छ । ‘सबै क्षेत्रको विकासको निर्णायक कृषि क्षेत्र हो, मुलुकको आर्थिक, सामाजिक रूपान्तरणको आधार कृषि क्षेत्र नै हो’, उनले भने ।

निर्वाहमुखी कृषिले युवालाई आकर्षण गर्न नसकिने बताउँदै उनले यसको लागि व्यावसायिक कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । पोखरेलले व्यवसायीलाई पनि कृषिमा व्यवसायीकरणका कार्यक्रम ल्याउन आग्रह गरे । केपी ओली नेतृत्वको सरकार बनेपछि जनताको निराशालाई आशामा परिणत गर्ने काम सुरु गरेको उनले बताए । देशको आर्थिक, सामाजिक क्षेत्रमा बिस्तारै परिवर्तनका सङ्केत देखिएको पोखरेलले स्पष्ट परोका छन्। देशको आर्थिक, सामाजिक रूपान्तरणकै लागि देशका दुई प्रमुख पार्टीहरू मिलेका पोखरेलले बताए ।

सरकार ढल्छ भनि प्रचार गरेर समाजमा अस्थिरताको खेती गर्ने काम भइरहेको उनको भनाइ छ । तर दुई प्रमुख नेता बिच समझदारी हुँदासम्म सरकार नढल्ने र अहिले उहाँहरू बिच राम्रो समझदारी रहेको पोखरेलले स्पष्ट पारे ।

व्यवसायी, औद्योगिक र लगानीमैत्री वातावरण बनाउने कुरामा अहिलेको सरकार लागेको र त्यही अनुसार विभिन्न अध्यादेश ल्याइएको उनले बताए । सरकार अब नरोकिने बताउँदै उनले सरकार ठोस योजनाका साथ अघि बढ्ने जानकारी दिए । सरकारले वातावरण तयार गरेकोले व्यवसायीहरूलाई लगानी गर्न पोखरेलले आग्रह गरे ।

‘लगानिको वातावरण बनाउन सरकार तयार छ, पार्टी पनि प्रतिबद्ध छ’, उनले भने । २०८४ सालको निर्वाचनसम्म दुई पार्टी बिच मिलेर अघि बढ्ने समझदारी भएकोले त्यसमा कुनै तलमाथि नहुने उनले स्पष्ट पारे । त्यसैले देशमा अब राजनीतिक स्थिरता सुरु भइसकेकोले ढुक्क भएर लगानी गर्न पोखरेलले आग्रह गरे । उनले अब संविधान माथिको खेलबाड सम्भव नभएको बताउँदै प्रतिक्रियावादीलाई यस माथि खेलबाड नगर्न चेतावनी दिएका छन् । प्रतिगमनकारीलाई जवाफ दिन संविधानको पक्षमा नेकपा एमालेले देशै भरी कार्यक्रम गर्न लागेको पनि उनले जानकारी दिए ।