१५ असार २०८३, सोमबार

२५ हजार घुससहित पोखरा महानगरका कर्मचारी पक्राउ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ चैत । पोखरा महानगरको उजुरी फर्छ्यौट शाखामा कार्यरत अधिकारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई बिहीबार घुससहित पक्राउ गरेको हो ।

अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै एक लाख रुपैयाँ रकम मागेकोमा २५ हजार रुपैयाँ लिएको अवस्थामा महानगरको गेट अगाडिबाट गिरीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जानकारी जनाएको छ ।

महानगरका विषयमा अख्तियारमा परेका उजुरी फछ्र्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै पोखरा महानगरपालिकाको वडा नम्बर १, ३ र ३० हेर्ने अमिनसंग एक लाख रुपैयाँ घुस मागेको अख्तियारको जिकिर छ ।

आफूविरुद्ध अख्तियारमा उजुरी परेको खबरले अत्तालिएका ती अमिनले आफूसँग त्यति ठूलो रकम नभएको भन्दै गिरीसँग गरेको टेलिफोन वार्ताको रेकर्ड पनि अख्तियारले प्राप्त गरेको बताइएको छ ।

स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिका वडा नम्बर २ मा कार्यरत थिए । त्यहाँ कार्यरत हुँदा उनलाई त्यतिबेला पनि अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गर्न खोजेको थियो । तर त्यति बेला उनको साथबाट घुसरकम फेला नपरे पछि उनी कारबाहीबाट बचेका थिए ।

पुतलीबजार २ मा रहँदा नै बढुवा भएपछि पोखरा महानगरपालिकामा सरुवा भएर आएका थिए र उनलाई महानगरले पोखरा १७ मा खटाएको बताइएको छ । त्यहाँ पनि बिबादित बनेका उनलाई पोखरा महानगरपालिकाको कार्यालयमा तानिएको थियो ।

वडा नम्बर १७ मा विवादित भएर तानेको भए पनि महानगरपालिकाले उनलाई उजुरी फछ्र्यौट शाखामा जिम्मेवारी दिएको बताइएको छ ।