१४ असार २०८३, आइतबार

धनुषाको हंसपुर नगरपालिकामा तालाबन्दी गर्दै माओवादीको धर्ना

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ७ चैत । धनुषाको हंसपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा तीन दिनदेखि तालाबन्दी गर्दै धर्ना जारी राखेका छन् । उनीहरुले वडा नम्बर–६ सोनिगामास्थित सामुदायिक विद्यालय परिसरमा घर निर्माण गरी कब्जा गरिएको भन्दै त्यस संरचना हटाउन माग गरेका छन् ।

माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने विषयमा कार्यपालिकाले गरेको निर्णय तत्काल लागू गर्नुपर्ने अडान राख्दै मेयर प्रदीप यादवलाई ज्ञापनपत्र बुझाएका छन् । तर, मेयर यादवले निर्णय तत्काल लागू गर्न अस्वीकार गरेपछि उनीहरुले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

धर्नामा बसेका माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने सम्झौता भए तालाबन्दी खोल्ने बताएका छन् । तर, सहमति नजुट्दा नगरपालिकाको प्रशासनिक कार्य प्रभावित भएको छ । नगरपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय नेता राजेश सक्सेनाले मेयरले कार्यपालिकाको निर्णय कार्यान्वयन नगरेका कारण बाध्य भएर धर्ना दिनु परेको बताएका छन् ।

यसैबीच, मेयर यादव र माओवादी कार्यकर्ताबीच केही चरणको वार्ता भए पनि सहमति जुट्न सकेको छैन । माओवादी नगर कमिटीले ३० बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । यदि विद्यालय परिसर खाली गराउने निर्णय कार्यान्वयन नभए, आन्दोलन अझ सशक्त बनाउने चेतावनी उनीहरुले दिएका छन् ।