
बाजुरा, ७ चैत । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृहमन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार रकम एक हजार चार सय ७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ ।
जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तंथ्याङक अद्यावधिक नभएकाले पालिकाका प्रभावितहरुका लागि भने रकम नआएको उनले बताए । उनले त्रिवेणी नगरपालिकामा २८ लाख २५ हजार रुपैयाँ, बूढीगङ्गा गाउँपालिकालाई ८६ लाख रुपैयाँ र बूढीनन्दा नगरपालिकालाई १३ लाख ५० रुपैयाँ रकम हस्तान्तरण गरिएको हो । साथै, गौमूल गाउँपालिकामा १३ लाख ७५ हजार रुपैयाँ, खप्तड छेडेदहमा दुई करोड २४ लाख ७५ हजार रुपैयाँ र स्वामीकार्तिक खापर गाउँपालिकालाई दुई लाख २५ हजार रुपैयाँ गरी कूल तीन करोड ६८ लाख २५ हजार रकम जिल्लामा आएको छ ।
मनसुनजन्य विपद्का प्रभावितका लागि पनि रकम आइसकेको उनले बताए । मनसुनजन्य विपद्बाट बूढीगङ्गा गाउँपालिका, त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिकालगायतका पालिकामा उक्त रकम पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।








प्रतिक्रिया