
पोखरा, ७ चैत । मुलुककै ठूलो र धेरै विद्यार्थी पढ्ने पोखराको पृथ्वीनारायण क्याम्पसमा मंगलबार स्थगित स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउने चैत १० गते हुने भएको छ ।
निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको बुधबार बसेको सर्वपक्षीय बैठकले स्थगित स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउने चैत १० गते बिहान आठ बजेदेखि गर्ने निर्णय गरेको हो ।
घोषित नयाँ निर्वाचन तालिका अनुसार चैत ७ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । साथै, निर्वाचनका लागि विभिन्न कार्य क्षेत्रको जिम्मेवारीमा रहेका प्राध्यापक र कर्मचारीहरु यथास्थानमै जिम्मेवारी रहेको निर्वाचन समितिले जनाएको छ ।
नौ हजार दुईसय ७० जना विद्यार्थी मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा मंगलबार निर्वाचन समितिले छापेको मतपत्रमा अखिल छैठौंका उम्मेदवारको सूची नदेखिएपछि विवाद हुँदा चुनाव स्थगित भएको थियो ।
मंगलबार बिहान मतदान प्रक्रिया सुरु हुनैलाग्दा मतपत्रमा अखिल (छैठौं)का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएको भेटिएको थियो । त्यस मतपत्र रद्द गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएपछि बुधबारसम्मका लागि चुनाव स्थगित गरिएको भन्दै निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले सूचना जारी गरेक थिए । तर साँझ निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेपछि अर्को सूचना नभएसम्मका लागि पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनाव स्थगित गरिएको थियो ।
२०६५ पछि हुन लागेको पिएनको २२औं स्ववियु अध्यक्षका लागि स्वतन्त्रसहित ८ जना अध्यक्षका उम्मेदवार प्रतिस्पर्धामा छन् ।








प्रतिक्रिया