२३ जेष्ठ २०८३, शनिबार

उदयपुरको चौदण्डीगढीमा भिषण आगलागी, करोडौंको क्षति

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, ५ चैत । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित कल्याण चोकमा भिषण आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

स्थानीय सरन राईको घरमा विद्युत सर्ट भई आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो । मंगलबार दिउँसो करिब २ बजे अचानक विद्युत सर्ट भएर राईको घरबाट सुरु भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्णरुपले जलेर नष्ट भएको हो ।

सिमेन्ट, काठ र टिनले बनेको दुईतले तीन वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकरी दिएको छ ।

आगलागीबाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन् । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको भएपनि क्षतिको पूर्ण विवरण भोलिसम्ममा मात्र आउने प्रहरीले जनाएको छ ।

दिउँसो विद्युत सर्ट भएर सुरु भएको आगोले तीन घर पूर्ण रुपले जलेर नष्ट भएका थिए भने अन्य घरमा समेत आंशिक क्षति पुगेको थियो ।

आगो नियन्त्रणमा लिन स्थानीय चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्लास्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नगर प्रहरीले झन्डै अढाई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।