
मकवानपुर, ५ चैत । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बासपानीमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
स्थानीय कृष्णबहादुर दर्लामीमगरको दुई तले कच्ची घरमा आज बिहान करिब साढे नौ बजे खोले पकाउन बालेको आगोबाट आगलागी भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा पौने ११ बजे आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ।
आगलागीबाट घरपूर्ण रूपमा जलेको छ । घरमा भएको १५ मुरी धान, १ बोरा चामल, ४ बोरा आलु, सुनका गहनाहरू र लत्ताकपडा तथा भाँडाकुँडा गरी अनुमानित १० लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको घरधनीले जानकारी दिएको प्रहरीले जनाएको छ । जलेका सुनका गहनाहरूमा तिलहरी, झुम्का, हातको बाला र बच्चाको कल्ली बाला गरी अनुमानित ५ तोला सुन रहेको बताइएको छ ।
प्रहरीका अनुसार आगलागीमा मानवीय, पशु चौपाया क्षति भने भएको छैन ।








प्रतिक्रिया