१ असार २०८३, सोमबार

११ महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ४ चैत । एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो ।

तिलमायाको शव नेपाल ल्याउन भएको ढिलाइका बारेमा गत फागुन १ गते ‘छोरीको शव ल्याउन भौँतारिइरहेकी ७० वर्षीय आमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्राथमिकताका साथ पहल भई शव नेपाल ल्याउन लागिएको हो ।

रोजगारीका लागि मलेसिया गएकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन । श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छ वर्षीय छोरी आमाको जिम्मा लगाएर मलेसिया जाएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए ।

छोरी तिलमायाको हत्या भएको खबर पाएदेखि नै शव नेपाल ल्याउनका लागि ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाएकी थिइन् । तर पनि हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन आनाकानी गरिएको थियो । शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन भएपछि यस विषयले प्राथमिकता पाएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना)की परामर्शदाता रञ्जना लम्सालले बताइन् ।

‘लामो प्रयासपछि शव नेपाल ल्याउन लागिएको छ । तिलमायाको शव बोकेको विमान सोमबार दिनको साढे १२ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्ने जानकारी पाएका छौँ’, उनले भनिन्, ‘शव बुझ्नका लागि तिलमायाकी दिदी नीलमाया सार्की आइतबार काठमाडौं जानुभएको छ ।’

मलेसियादेखि काठमाडौं शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले नै व्यहोर्ने भएको छ । शव सोमबार साँझसम्ममा तिलमायाको माइतीघर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जनकारी दिइन् । ‘वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शवबहानमार्फत काठमाडौंबाट घरसम्म शव ल्याइने छ’, उनले भनिन्, ‘आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले सोमबार नै शव घर आइपुग्ने छ ।’

लामो समयसम्म प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिका छोरी तड्पिरहेका थिए । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया ११ महिनादेखि वडा कार्यालय र नगरपालिका धाउने गरेकी थिइन् । तिलमायाको हत्या भएको खबरलगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि ढिलाइ भएपछि राससमार्फत समाचार प्रकाशन गरिएको थियो ।

मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले अनुसन्धान सकेर शव पठाउन ढिलाइ भएको जानकारी आएको सुरक्षित आप्रवासन केन्द्र परामर्शदाता लम्सालले बताइन् । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ ।

‘तिलमायाको परिवारले पाउने आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकिएको र बाँकी कागजपत्र शवसँगै आउने हुँदा पछि बुझाइने छ’, लम्सालले भनिन् ।