७ असार २०८३, आइतबार

गण्डकी प्रदेश खेलकुदका पूर्वाधारको विकासमा पछाडि पर्‍यो : सञ्चारमन्त्री गुरुङ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३ चैत । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश खेलकुदका पूर्वाधारको विकासमा पछाडि पर्दै गएको अनुभूति भैरहेको बताएका छन् ।

शनिबार पोखरा–२९ भण्डारढिकमा आयोजित सूर्य तारा खेल महोत्सवको समापन समारोहमा बोल्दै मन्त्री गुरुङले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नका लागि लागिरहेको उल्लेख गरे । सेती घाटको १ सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा ल्याइसकेको र अन्य विभिन्न ठाउँमा गरेर १४ सय रोपनीभन्दा बढी जग्गा प्राप्त गरे पनि पूर्वाधार निर्माणमा प्रगति गर्न नसकिएको उनले स्विकारे । उनले पोखरा खेलकुदको राजधानी हुन सक्ने औँल्याए । त्यतिमात्र नभएर पोखरा आइटी, शिक्षा तथा स्वास्थ्यको समेत राजधानी हुनसक्ने भनाइ उनको थियो ।

गण्डकी प्रदेशको विकासको लागि पोखरालाई केन्द्र मानेर विश्वविद्यालय, अस्पताल र खेल पूर्वाधार निर्माण गर्ने दायित्व सबैको रहेको गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका मन्त्री गुरुङले औँल्याए । वर्तमान सरकारले यहाँ भइरहेको विकृति विसङ्गतिलाई रोक्दै जनतामा छाएको निराशा तथा युवामा देखिएको सरकार प्रति अविश्वासलाई चिर्नेगरी काम गरिरहेको उल्लेख गरे ।

छिटो छिटो सरकार फेरिने र स्रोतको सुनिश्चितता बिना नै नयाँ योजना राख्दा समस्या देखिएकोले त्यसलाई अन्त्य गर्नेगरी वर्तमान सरकारले काम गरिरहेको मन्त्री गुरुङले बताए । यसपालि स्रोतको सुनिश्चितता अर्थ मन्त्रालयले गरेको र राष्ट्रिय योजना आयोगले सिफारिस गरेका ठूला राम्रा योजना मात्र ल्याउने सरकारको तयारी रहेको भन्दै यो पटक धेरै योजना पार्न नसक्ने स्पष्ट पारे । पोखराको सौन्दर्यता समृद्धि र विकासका लागि खेलकुदका पूर्वाधार बनाउने काम बाँकी भएको बताएका उनले भण्डारढिक खेल मैदानलाई विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्नको लागि योजना आयोगसँग छलफल गर्ने बताए । रंगशालाका लागि यसपटक बजेटको प्रबन्ध गर्ने कुरामा प्रयत्न गर्ने उनको प्रतिवद्धता थियो ।

‘भण्डारढिकको यो खेल मैदानको स्तरोन्नतिको लागि अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने हाम्रो सोच हो, हामीले पहिलेदेखि त्यो योजना बनाइराखेका हौँ’ मन्त्री गुरुङले भने ‘त्यो कामलाई पूरा गर्नको लागि यसपालिको बजेटको प्रबन्ध गर्ने कुरामा लागिरहने कुरा यहाँहरूलाई निवेदन गर्न चाहन्छु ।’

कांग्रेस र एमालेसहितको समीकरणमा वर्तमान सरकार निर्माण नभएको भए नेपाल श्रीलंकाको जस्तै अर्थतन्त्र फेल भएर मुलुक असफल बन्ने अवस्थामा पुगेर विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषले जमानी बसेर ऋण दिएर उकास्नुपर्ने परिस्थितिमा पुग्ने स्थिति आउने दाबी एमाले उपमहासचिव समेत रहेका गुरुङले गरे । नेपाललाई असफल मुलुक हुनबाट जोगाएका उनको भनाइ छ।

यसअगाडिको सरकारले झण्डै १९ हजार योजना हालेर अस्तव्यस्त बनाएको तथा ठेकेदारलाई पैसा भुक्तानी हुन नसकेको अवस्थालाई समेत वर्तमान सरकारले हल गर्न लागेको सुनाए । ठेकेदारको पुरानो भुक्तानी यो वर्ष सकिने उनको दावी छ ।

वर्तमान सरकार निर्माण भएपछि मुलुकमा सुशासनको प्रारम्भ भएको र काममा ढिलाइ सुस्ति हुने कुराको अन्त्य हुने अवस्था आउन थालेको उनले बताए । सार्वजनिक सेवा प्रवाभकारी बनाउन अध्यादेश ल्याउन लागिरहेको बताएका उनले त्यसपश्चात कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउने विश्वास गरे । राष्ट्रिय गौरवका आयोजनालाई समयमानै सम्पन्न गर्ने गरी कार्य गर्न गरेको बताए । राजस्व वृद्धि गरेर विभिन्न कार्य मार्फत जनतामा विश्वास जगाइने मन्त्री गुरुङको भनाइ छ ।

सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका कार्यक्रम संयोजक विष्णु पुनको अध्यक्षतामा भएको समापन समारोहमा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकाल, एमाले गण्डकी अध्यक्ष नवराज शर्मा, नेपाल खेलकुद महासंघका अध्यक्ष एवं प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पर्शुराम बस्नेत, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ लगायतले बोलेका थिए ।