२० असार २०८३, शनिबार

शैलुङको जंगलमा लागेको आगो नियन्त्रणमा नआउँदै बेतालीमा पनि लाग्यो आगो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ३ चैत । चैत महिना सुरु हुने बित्तिकै रामेछापका जंगलहरूमा आगलागी सुरु भएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जंगलमा लागेको आगो नियन्त्रणमा नआउँदै गोकुलगंगा गाउँपालिकाको बेतालीको जंगलमा पनि आगो लागेको छ ।

शैलुङको जंगलमा शुक्रबारदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छाङखोला नजिकैबाट लागेको आगो अहिले शैलुङको जंगलमा लागिरहेको छ ।

शनिबारबाट जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा पर्ने लिसेखानी सामुदायिक वन क्षेत्रमा पनि शनिबारबाट डढेलो लागेको छ । बस्ती नजिकैको जंगलमा सल्केको डढेलोको कारण केही घर समेत उच्च जोखिममा छन् । दुवै तर्फको डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय जुटिरहेका छन् ।

टोकरपुरको डढेलो ठूलो वन क्षेत्रमा फैलिएकोले नियन्त्रण बाहिर पुगेको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।