५ असार २०८३, शुक्रबार

‘बीआरआईले पूर्वाधार मात्र होइन आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्छ’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । सभामुख देवराज घिमिरेले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मार्फत नेपाल र चीन दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको बताएका छन् ।

शनिबार काठमाडौंमा बीआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरु सम्मिलित बौद्धिक व्यक्तित्वहरुको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा उनले बिआरआई नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा पनि रहेको भन्दै यसले सम्बन्धहरु अझै बलियो हुँदै जाने बताए ।

उनले भने, ‘चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्वपूर्ण विकास साझेदार मुलुकको रुपमा रहदैँ आएको छ । नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेका छन् । बिआरआईमार्फत दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको छ । यो नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा लिनुपर्छ ।’

यस्तै, उनले नेपालको दिगो विकासको लागि पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको भन्दै नेपालमा रहेका लगानी र सम्भावनाहरुलाई पहिचान गरि बिआरआई अन्तरगत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने, ‘नेपालको दिगो विकासको लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ । नेपालमा रहेका लगानी र सम्भावनाहरुलाई सही रुपमा पहिचान गरी बीआरआईअन्तर्गत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्छ ।’ दुई देशबीच विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप गहिरो बनाउन आजको कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने कुरामा पनि विश्वस्त रहेको उनको भनाई छ ।

उनले संवाद कार्यक्रममा उच्च राजनीतिक व्यक्तित्व, कुटनीतिज्ञ, व्यवसायी, शिक्षाविद्, सञ्चारकर्मीलगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितीले यसको गरिमा बढाउने बताए । सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआईले नेपालमा पूर्वाधार निर्माण, विकास, व्यापार र आर्थिक विकासको लागि अवसर प्रदान गर्ने बताए ।

‘यो संवाद आयोजना गर्नुको उद्देश्य प्राप्त गर्नको लागि बीआरआईमा पाँचवटा मुख्य कुराहरु छन् । पूर्वाधार विकास, व्यापार सहजीकरण, आर्थिक लगानी, व्यक्ति व्यक्तिबीचको सम्बन्धलगायत रहेको छ,’ उनले भने । बीआरआईले नेपालीहरुलाई नयाँ आशा दिएको पनि बताए ।

‘बीआरआई चीनले विश्वभर आफ्नो प्रभुत्व देखाउनको लागि ल्याएको भनेर केही गलत विचारहरु पनि आएका छन् । वास्तवमा कुनै पनि प्रकारको कुरा सुन्नु परेको छैन् । नेपालमा केही मान्छेहरुले पोखरा विमानस्थल चीनको एउटा ट्राप हो पनि भन्ने गरेका छन् । यस्तै लुम्बिनी विमानस्थलको बारेमा पनि सुन्न आएको छ तर यो कुराहरु गलत हो,’ खनालले भने ।

यस्तै, नेपालका लागि चिनियाँ राजदूत छेन सोङले बीआरआईको सम्झौतामा हस्ताक्षर भएको आठ वर्षपछि र कार्यान्वयनको लागि हस्ताक्षर गरेको तीन महिनापछि पनि नेपाली समुदायमा बीआरआईबारे अझै केही गलत बुझाई र शंकाहरु रहेको बताए ।

‘बीआरआईमाथिको शंका मेट्नका लागि संवाद कार्यक्रम अझै महत्वपूर्ण छ । बीआरआई नेपालको लागि र भविष्यको लागि एकदमै महत्वपूर्ण छ । बीआरआई भनेको एउटा सार्वजनिक पुल हो जुन चीनले विश्वको लागि प्रदान गरेको छ,’ उनले भने ।