२२ असार २०८३, सोमबार

हिमवतखण्ड कला–साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई शुक्रबार स्वागत गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भू–भाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गरे ।

प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताए । यी सबै ज्ञान र हाम्रा मान्यताको गम्भीर खोज र अध्ययन एवं अनुभव आदानप्रदान गर्न सहभागीलाई आग्रह गरे ।

शुक्रबारदेखि चैत ३ गतेसम्म काठमाडौंमा हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिब पाँच सय स्रष्टाहरुको सहभागिता रहेको छ । नेपाल बाहिरबाट ५८ जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा प्रा.डा. चुडामणि बन्धु, प्रा.डा. माधवप्रसाद पोखरेल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्टानका कुलपति निशा शर्मा, भारतको काशी हिन्दु विश्वविद्यालयका भारतीय भाषा विभागका अध्यक्ष प्रा.डा. दिवाकर प्रधान, साहित्यकार कविता लामालगायत सहभागी थिए ।

सम्मिलनको शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भयो भने आइतबार प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट समापन हुनेछ । सम्मिलनको पहिलो दिन हिमवतखण्ड साहित्यिक चलचित्र उत्सव, दोस्रो दिन हिमवतखण्ड बृहत सांस्कृतिक उत्सव र तेस्रो दिन हिमवतखण्डका क्षेत्रका कविहरुको काव्य उत्सवको कार्यक्रम रहेको छ ।

सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानहरुले गोष्ठीपत्र प्रस्तुत गर्ने क्रम सुरु भएको छ । यसअघि भानु जयन्तीका अवस्सरमा २०७५ असार २९ देखि ३१ गतेसम्म काठमाडौंमा यस प्रकारको पहिलो सम्मिलन आयोजना भएको थियो ।