
काठमाडौं, १ चैत । प्रभु बैंकले मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरमा भीम यूपीआई सेवा सुरु गरेको छ ।
शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम यूपीआई सेवाको शुभारम्भ गरिएको हो । यो सेवाको सुरुवातसँगै अब भारतीय नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य किनमेलमा समेत भुक्तानी गर्न सक्ने भएका छन् ।
यस सेवाले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सही भुक्तानी गर्ने सुविधा पुगेको, साथै नेपाल–भारत वित्तीय सम्बन्ध पनि थप सुदृढ बन्ने विश्वास गरिएको छ ।
त्यस्तै, यो सेवामार्फत क्रस–बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ । यसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा गभर्नर अधिकारीले भीम यूपीआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशितालाई बलियो बनाउने उल्लेख गरे । उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याए ।
यस अवसरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु रानामगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।








प्रतिक्रिया