२२ असार २०८३, सोमबार

युक्रेन र अमेरिकाबीच समझदारी : ३० दिने अस्थायी युद्धविरामको सहमति

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साउदी अरब , २८ फागुन । मंगलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ ।

वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ। यस वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ ।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र आशा गरिएको छ कि रुसले पनि समर्थन गर्ने बताए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गरे ।

वार्तामा अमेरिकी विदेश सचिव मार्को रुबियोले साउदी अरेबियाको मध्यस्थताको प्रशंसा गर्दै अब रुसले युद्धविराम सर्तहरू स्वीकार गरेर वास्तविक शान्ति वार्तामा अघि बढ्नुपर्ने बताए । उनले वार्ताको सफलताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको पहललाई श्रेय दिँदै युद्ध अन्त्य गर्नु नै प्रमुख उद्देश्य रहेको स्पष्ट पारे ।

यस वार्तामा अमेरिकाको तर्फबाट विदेश सचिव मार्को रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्व राजदूत स्टीभ विटकफ सहभागी थिए भने युक्रेनको तर्फबाट राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख कर्मचारी एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्रि सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ उपस्थित थिए ।

यसैबीच, रुसी राज्य समाचार संस्था ताससँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी प्रतिनिधिहरूसँग आगामी दिनमा सम्पर्क गर्न सकिने सङ्केत गरे ।

फेब्रुअरी २८ मा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच विवाद भएको थियो । त्यसयता अमेरिका र युक्रेनबीच उच्चस्तरीय वार्ता हुन सकेको थिएन । राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहायता र खुफिया जानकारी आदानप्रदानमा रोक लगाएपछि दुई देशबीचको सम्बन्ध नाजुक बनेको थियो। हाल कीभले अमेरिकासँग सम्बन्ध सुधार गर्न निरन्तर पहल गरिरहेको छ ।

अब प्रस्तुत युद्धविराम प्रस्तावमा रुसले कसरी प्रतिक्रिया जनाउनेछ भन्ने चासोको विषय बनेको छ । यदि रुसले सहमति जनाएको खण्डमा युद्ध अन्त्यतर्फ एक महत्वपूर्ण कदम अघि बढ्ने विश्वास गरिएको छ । एपी/एएफपी