
महोत्तरी, २७ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताएका छन् ।
सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएतापनि ठूला दलहरु भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने उनले जिकिर गरे ।
‘हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ ।’ अध्यक्ष डा. राउतले भने, ‘जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौँ तर समाजवादी गणतन्त्र भने हैन ।’
महोत्तरीको बर्दिवासमा केन्द्रीय समितिको बैठकको समापनको क्रममा पत्रकारहरुसगँ कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरुले टाउको उठाएको पनि दाबी गरे । सुशासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको बताउँदै उनले गणतन्त्र रक्षाको लागि ठूला दलहरु नै सुध्रनुपर्ने धारणा राखे ।
अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको प्रर्दशनलाई लिएर भने फरक मत राखेका छन् । प्रर्दशनभन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिँदै उनले नेपालको परिवेशमा समाजवादभन्दा नौलो गणतन्त्र नै आवश्यक भएको दोर्याए ।








प्रतिक्रिया