
बिर्तामोड, २७ फागुन । राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज)सहित तीन जना युवामाथि गएराति सांघातिक आक्रमण भएको छ । हत्या गर्ने योजनासहित भएको आक्रमणबाट तीनै जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदिप राजवंशी र अजय खवासको अर्थो वार्डमा राखेर उपचार भइरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरिरका विभिन्न भागमा चोट लागेको छ ।
घटना विवरण अनुसार बिर्तामोड–४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएको बुझिएको छ । घर भित्र पस्नको लागि चेनगेटमा पुग्नेवित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । अर्का घाइते खवासका अनुसार आङ्देम्बेको हत्या गर्ने योजनाले नै खुकुरी प्रहार भएको हो ।
‘आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरेँ, खवासले भने– ‘मेरो हातको ४ वटा औँला काटिएको छ । यो आक्रमण योजनावद्ध देखिन्छ ।’
यस्तै, अर्का घाइते राजवंशीलाई पनि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका सोही समूहका ४ जनाले आक्रमण गरेको थियो ।
घटनाको विषयमा जानकारी भएपश्चात संलग्नहरुको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।









प्रतिक्रिया