
काठमाडौं, २५ फागुन । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले नेपालमा राजतन्त्रको पुनर्स्थापना गर्न चाहनेहरूलाई कडा चेतावनी दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले गणतन्त्र पूर्वराजा ज्ञानेन्द्र शाहले स्वेच्छाले किस्तीमा राखेर नदिएको टिप्पणी गरेका हुन् । रिजालले जनताको बलिदानीपूर्ण संघर्षका अगाडि घुँडा टेकेर नारायणहिटीबाट निस्केर गणतन्त्र कार्यान्वयन गर्न सघाएका कारणले मात्र पूर्वराजा र उनको परिवारले अन्य नागरिकसरह देशभित्रै शान्तिपूर्ण रूपमा बस्न, व्यापार गर्न, घुमफिर गर्न र बोल्न पाइरहेको उल्लेख गरे ।
‘यदि जनतासँग फेरि लड्नै चाहेको हो भने विश्वमा पतन भएका राजा र उनका परिवारको इतिहास एक पटक राम्ररी पढ्दा हुन्छ,’ नेता रिजालले भनेका छन्, ‘ किनकी, राजतन्त्र र जनताबीचको लडाइँमा जनताले कहिल्यै हारेका छैनन् र हार्दैनन् । बरु राजा र उनको परिवार न बाँकी रहेको पाइन्छ न त आफ्नो देशमै बस्न पाएको भेटिन्छ ।’
रिजालले ७८ वर्षका पूर्वराजा ज्ञानेन्द्रलाई ‘राजतन्त्रको पुच्छर समातेर राजनीतिको वैतरणी तर्न खोज्नेहरु’बाट टाढा रहन सुझाव दिएका छन् ।
‘ज्ञानेन्द्रले त बुझेकै हुनुपर्छ, उनलाई उकासेर मरेको राजतन्त्रको पुच्छर समातेर राजनीतिको वैतरणी तर्न खोज्नेहरुले यति कुरा बुझिदिए ७८ वर्षका पूर्वराजालाई अनावश्यक सास्ती हुने थिएन ।’ रिजालले भने ।
नेता रिजालले फेसबुकमा लेखेका छन्–
गणतन्त्र ज्ञानेन्द्रले स्वेच्छाले किस्तीमा राखेर दिएका होइनन् । जनताको बलिदानीपूर्ण संघर्षका अगाडि घुँडा टेकेर नारायणहिटीबाट निस्केर गणतन्त्र कार्यान्वयन गर्न सघाएका कारण नै उनी र उनको परिवारले अरु नागरिक सरह देशभित्रै शान्तिपूर्ण रुपमा बस्न, ब्यापार गर्न, घुमफिर गर्न, बोल्न आदि पाइरहेका छन् । यदि जनतासँग फेरि लड्नै चाहेको हो भने विश्वमा पतन भएका राजा र उनका परिवारको इतिहास एक पटक राम्ररी पढ्दा हुन्छ । किनकि, राजतन्त्र र जनताबीचको लडाइँमा जनताले कहिल्यै हारेका छैनन् र हार्दैनन् । बरु राजा र उनको परिवार न बाँकी रहेको पाइन्छ न त आफ्नो देशमै बस्न पाएको भेटिन्छ । ज्ञानेन्द्रले त बुझेकै हुनुपर्छ, उनलाई उकासेर मरेको राजतन्त्रका्े पुच्छर समातेर राजनीतिको बैतरणी तर्न खोज्नेहरुले यति कुरा बुझिदिए ७८ बर्षका पूर्व राजालाई अनावश्यक सास्ती हुने थिएन ।








प्रतिक्रिया