२३ असार २०८३, मंगलबार

ज्ञानेन्द्रलाई प्रचण्डको चेतावनी– अर्को मूर्खता गरे अस्तित्व नै समाप्त हुन्छ

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २४ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा ठूला–ठूला गल्ती गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले अब फेरि अर्को मूर्खता गरे अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन् ।

पहिले एकपटक मुर्खता गर्दा नेपाली जनताले कारबाहीको सट्टा उदारतापूर्वक आरामले बस्न दिएको भन्दै त्यसलाई कमजोरी ठानेर अर्को मूर्खता गरे उनको अस्तित्व नै समाप्त हुने प्रचण्डले चेतावनी दिएका हुन् ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा आज बिहान मर्निङवाकपछि गरुडामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यदि ज्ञानेन्द्रलाई राजनीति नै गर्नुछ भने पार्टी खोलेर चुनावमा आउन सुझाव दिए ।

एक प्रश्नको जवाफमा उनले ‘अब राजसंस्था फर्किन असम्भव छ, हल्लाखल्ला गरिएको छ तर इतिहाँसको जग पछाडि फर्काउन नसकिने’ बताए।

प्रचण्डले अर्को प्रश्नको जवाफमा कुलमान घिसिङले सँधैं घाटामा रहेको संस्था विद्युत प्राधिकरणलाई नाफामा ल्याएर देशमा लोडसेडिङको अन्त्य गरेको बताए । त्यस्ता मानिसलाई सरकारले हटाउन खोजे नेपाली जनता चुप लागेर नबस्ने प्रतिक्रिया उनले दिए ।