१ असार २०८३, सोमबार

प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ : मुख्यमन्त्री कार्की

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २३ फागुन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् ।

आज विराटनगरमा विराटनगर ट्रक व्यवसायी सङ्घको ३३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार एक्लैले सबैथोक गर्न नसक्ने भएकाले सहकार्य गरेर अगाडि बढ्नका लागि सरकार तयार रहेको बताएका हुन् ।

कोशी प्रदेश सरकारले सहकार्यकै मोडललाई ध्यान दिँदै ट्रक व्यवसायीसँग विराटनगरको पार्किङलाई व्यवस्थित गर्न २ करोड रुपैयाँ छुट्याएर काम गरेको जानकारी दिए । कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनले प्रदेशमा लगानीको वातावरण बन्ने र निजी क्षेत्रसँगको सहकार्य पनि वृद्धि हुने बताए ।

प्रदेश सरकार सुशासन कायम गर्दै विकास र समृद्धितर्फ अगाडि बढेको र असारे विकासलाई निरुत्साहन गर्न समेत लागिपरेको चर्चा गर्दै कार्कीले सुशासन मार्फत समृद्धि हासिल गर्ने धारणा राखे । उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्रमा साझेदारीका मार्फत काम गर्न प्रदेशले चाहिरहेको उल्लेख गर्दै उनले व्यवसायीहरुलाई नयाँ नयाँ क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । ‘यस्तो काम गर्दा सरकार पनि सँगसँगै हातेमालो गर्छ, उनले भने,’सहकार्य र हातेमालोको माध्यमबाट राष्ट्रिय पुँजी समेत विकास गर्न सकिन्छ।’

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकार यातायात क्षेत्रको सुधारका लागि लागिपरेको उल्लेख गरे ।

कार्यक्रममा ट्रक व्यवसायीहरुले आफूहरुले भोग्नु परेको समस्याका बारेमा मुख्यमन्त्रीलाई अवगत गराएका थिए । कार्यक्रममा ढुवानी व्यवसायी शम्भुप्रसाद भट्टराईले ढुवानीका क्षेत्रको समस्या समेत सम्बोधन गर्नका लागि आग्रह गरेका छन् । व्यवसायी मेघराज सिग्देलका अनुसार अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।