
पोखरा, २० फागुन । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो सचिबालय बैठक पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले पार्टीले संचालन गर्न गइरहेको तीन महिने अभियानलाई प्रभाबकारी र उपलब्धीमुलक बनाउने गरेर कार्ययोजना तय गरिने र त्यही अनुसार सम्पूर्ण पार्टी पंक्ती परिचालित हुनुपर्ने बताए ।
इन्चार्ज गुरुङले पार्टी सरकारमा रहेको अवस्थामा पार्टीकाविरुद्वमा गरिएका कुप्रचार र अफवाहहरूको प्रतिकार सहित सबल पार्टी निर्माणमा लाग्न आग्रह गरे । बैठकले पार्टीले लगत्तै संचालन गर्न गइरहेको तीन महिने अभियानको सन्दर्भमा तयारी तथा जिम्मेबारी बाँडफांड समेत गरेको प्रदेश कमिटी सचिब धनन्जय दवाडीले जानकारी दिएका छन् ।
साथै बैठकले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीको विभिन्न पदमा कार्यरत नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णयसमेत गरेको प्रदेश कमिटी उपसचिव तथा प्रचार एबम् प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले बताए ।
बैठकले म्याग्दी जिल्ला कमिटीका पूर्बउपसचिव समेत रहेका प्रदेश कमिटी सल्लाहाकार परिषद सदस्य तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागे सम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टीका बागलुङ जिल्ला अध्यक्ष हिरा बहादुर के सी, लमजुङ अध्यक्ष राजकुमार बिष्ट, गोर्खा अध्यक्ष सुरेन्द्र थापा, तनहुँ अध्यक्ष हरिराज कंडेल, पर्बत अध्यक्ष गोबिन्द पाहाडी, म्याग्दी अध्यक्ष बालकृष्ण सुबेदी, कास्की अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री सहितका जिल्ला अध्यक्षहरूले आ–आफ्नो जिल्ला कमिटीको गतिबिधि र कार्यक्रमहरूको सन्दर्भमा प्रकाश पारेका थिए । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।









प्रतिक्रिया