२६ जेष्ठ २०८३, मंगलबार

टीकाथलीमा ग्यास ‘लिकेज’ : स्थानीय जनता त्रसित

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोदावरी, २० फागुन । टीकाथली क्षेत्रमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’ भएपछि स्थानीय जनता त्रसित भएका छन् । सो घटनापछि  ग्यास अन्वेषण तथा भण्डारण, बस्ती व्यवस्थापनलगायत विषयमा स्थानीयवासी विचारविमर्श गरिरहेका छन् ।

महालक्ष्मी नगरपालिका–५, टीकाथलीस्थित बुजुर्ग खोला करिडोर क्षेत्रमा खानेपानीका लागि ‘बोरिङ’ गर्नेक्रममा ग्यास निस्केपछि यसै विषयमा केन्द्रित भई तर्कवितर्क सुरु हुन थालेको हो । स्थानीय बासिन्दा महेश महर्जन खानेपानीका लागि बोरिङ गर्ने सिलसिलामा करिब २७५ मिटर गहिराइमा पुगेपछि एक्कासी ग्यास लिकेज भई आगोको लप्का निस्केको घटनात्लाई सामान्य रुपमा लिन नहुने बताउँछन् ।

टीकाथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य राजेशकुमार राणाका अनुसार यसअघि पनि बोरिङ गर्नेक्रममा करिब १०० मिटर खन्दा ग्यास निस्केको घटनासमेतलाई दृष्टिगत गरी खानेपानीको अभाव रहेको टीकाथली क्षेत्रमा बोरिङमार्फत पानी निकाल्ने काम थप जटिल बनेकाले यसतर्फ जिम्मेवार निकायको ध्यान जान आवश्यक छ ।

सदस्य राणाले भने, “करिब ७०/८० वर्षअघि नेपाल र भारतबीच ग्यास प्लान्ट स्थापना गर्ने सन्दर्भमा सम्झौता भई ललितपुरको इमाडोल, टीकाथली र खरिबोट क्षेत्रमा भण्डारणका लागि जग्गा छुट्याइएको तर कार्यान्वयन नभएको भन्ने कुरा अग्रजहरूबाट सुनेका हौँ, तर अहिले अचम्मित हुनेगरी पानीका लागि जमिन खन्दा ग्यास पो निस्कन थाल्यो । पानीको समस्या झेलिरहेका यस क्षेत्रका जनता झन् त्रसित र अप्ठ्यारोमा परेका छन्, यसतर्फ सम्बन्धित पक्षले समयमै सोच्न जरुरी छ ।”

महालक्ष्मी नपा–५ को वडाअध्यक्ष कपिल केसीले भने, “मेरो स्थायी बसोबास रहेको टीकाथली क्षेत्रमा बोरिङ गरी खानेपानी निकाल्ने क्रममा करिब २७५ मिटर गहिरो खनेपछि अपेक्षा गरिएअनुसार नै पानी आउन थाल्यो । यसैबीच फलामको पाइप जडान गर्ने क्रममा ‘वाइरिङ’ गर्दा निस्केको आगोको सामान्य लप्कालाई अहिले बढाई चढाई समाजलाई त्रसित बनाउने काम भइरहेको छ । बाहिर आएको जस्तो नभई यो सामान्य घटना हो, कोही पनि त्रसित हुन आवश्यक छैन ।”

महालक्ष्मी नगरपालिकाले स्थानीयवासीको मागलाई ध्यानमा राखी सो घटनाका सन्दर्भमा आवश्यक अध्ययन, अनुसन्धान गर्न खानी तथा भूगर्भ विभागलाई पत्रचार गरेको जनाएको छ ।