२३ असार २०८३, मंगलबार

श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ : प्रधानमन्त्री

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन पाइँदैन भने ।

श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।

“व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा हाम्रा साथीहरु मारिएका थिए तर हाम्रा उद्देश्यहरु मारिएका थिएनन् । हामीहरु जेल गएका थियौँ तर हाम्रा उद्देश्यहरु जेल गएका थिएनन् ।”, नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “अब हामी परिवर्तनको मर्म अनुसार अघि बढ्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय मान्यताअनुसार संवादका माध्यमबाट सरकार, रोजगारदाता र श्रमिकलाई विन विन अवस्थामा ल्याउन सक्नुपर्छ । सरकारले तटस्थ बसेर निष्पक्ष निष्कर्ष निकाल्नुपर्छ ।”

उहाँले मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्नेविरुद्ध भ्रम र अवरोध सृजना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने आग्रह गर्दै व्यवस्था परिवर्तनपछि विकासको क्रम बढेको स्पष्ट पारे । “हामीलाई कसैको अनावश्यक विरोधसँग मतलव छैन । नचाहिने प्रदूषित कुरा हामी बोकेर हिँड्दैनौँ । हामीलाई देशको विकास र परिवर्तन गर्नुछ । विरोधका लागि विरोध गर्ने प्रवृत्ति आफै सेलाएर जान्छ । यसमा मजदूर आन्दोलन विगतदेखि नै सचेत छ भन्नेमा म विश्वस्त छु ।”, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

हिमालहरु पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको सन्दर्भमा प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह गरे ।

‘सेभ द हिमालय–प्रोटेक्टिङ राइट्स अफ वर्कर्स’ विषयमा विमर्श पनि गरिएको कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं जिफन्टका पूर्व अध्यक्ष विष्णुप्रसाद रिमाल, नेकपा (एमाले) को जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, संयुक्त ट्रेड युनियन समन्वय समितिका अध्यक्ष जगत सिंखडा, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका नेपालस्थित राष्ट्रिय निर्देशकलगायत सहभागी थिए ।

कार्यक्रममा हिमाल आरोही, उद्धारकर्ता र सम्बन्धित संस्थालाई सम्मान गरिएको थियो ।