
काठमाडौं, २० फागुन । जारी च्याम्पियन्स ट्रफीअन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ । पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै छन् ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपरान्ह २ः४५ बजेदेखि सुरु हुँदैछ ।
भारत समूह ए को विजेताको रुपमा सेमिफाइनल खेल्दैछ भने अस्ट्रेलिया समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगितामा दुवै अपराजित रहेका छन् ।
आइसीसी प्रतियोगितामा भारतमाथि अस्ट्रेलिया धेरै जसो हावी हुँदै आएको छ । २०२३ मा भारत आफ्नै घरेलु मैदानमा एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । अब यस सेमिफाइनलमा भारतका अगाडी अस्ट्रेलियासँग बदला लिने अवसर रहेको छ ।
भारत र अस्ट्रेलियाबीच एकदिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म १५१ खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । १० खेलको कुनै नतिजा आएको छैन ।
त्यस्तै, दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुँदैछ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुनेछ ।








प्रतिक्रिया