३२ असार २०८३, बिहिबार

प्रेस चौतारी नेपालको गतिविधि बारे प्रधानमन्त्रीको चासो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको गतिविधिको बारेमा चासो लिएका छन् ।

श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालका सम्पन्न जिल्ला अधिवेशनहरू, प्रदेश अधिवेशनका सिकाइ र उपलब्धिको विषयमा ओलीले छलफल गरेका हुन् ।

संगठनका अध्यक्ष गणेश बस्नेतसँग पार्टीको तर्फबाट संगठनका इञ्चार्ज तथा स्थायी समिति सदस्य राजेन्द्र गौतम तथा जनसंगठन संयन्त्रका प्रमुख पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतको उपस्थितिमा ओलीले ब्रिफिङ लिए ।

दशौँ महाधिवेशनको तयारी, जिल्ला र प्रदेश अधिवेशन तथा एकता अभियानको विषयमा परिणाममूलक छलफल र निर्देशन प्राप्त भएको संगठनका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । ‘महाधिवेशनको काम र भावी नेतृत्वबारे छलफल र निर्देशन प्राप्त भएको छ’, उनले भने ।

छलफलको क्रममा एक जिल्लामा मतदानबाट र बाँकी सबै जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी पार्टी अध्यक्षलाई गराएको बस्नेतले बताए । यसलाई पार्टी अध्यक्ष ओलीले सकारात्मक रूपमा लिएका र महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन हुनेमा पूर्णतः विश्वास व्यक्त गरेका बस्नेतले बताए ।