
भक्तपुर, १७ फागुन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशलाई संकटमा पर्दा नेपाली कांग्रेस र एमालेबीच विगतदेखि नै सहकार्य हुँदै आएको बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको दोस्रो जिल्ला सम्मेलनको आज भक्तपुरमा उद्घाटन गर्दै उनले पछिल्लो समय दुई पार्टीबीच सत्ता सहकार्य त्यसैको निरन्तरता भएको बताए । ‘कांग्रेस एमाले दुईवटा राजनीतिक पार्टी मात्रै होइनन्, सधैँ संकटको बेला मिलेर काम गर्ने राजनीतिक खम्बा पनि हुन् । अहिलेको गठबन्धन पनि त्यसैको एउटा नमूना हो’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।
इतिहासका हरेक कालखण्डमा कांग्रेस र कम्युनिष्टहरूबीच राजनीतिक रूपमा सहकार्य र प्रतिस्पर्धा दुवै हुँदै आएको सन्दर्भ उल्लेख गर्दै अहिले पनि समस्या समाधानका लागि सहकार्य र निर्वाचनमा प्रतिस्पर्धा गर्ने साझा दृष्टिकोणसहित अगाडि बढेको उल्लेख गरे ।
‘राणाशासनविरोधी आन्दोलनदेखि पछिल्लो २०६२/६३ को जनआन्दोलन र २०७२ को संविधान जारी गर्दासम्म कांग्रेस र एमाले एक भएर नै संकटलाई पार लगाइएको हो’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हालको सत्ता गठबन्धन पनि देशलाई संकटबाट जोगाउन, राजनीतिक अस्थिरता अन्त्य गर्न, देशलाई सही मार्गमा ल्याउनका लागि भएको हो । सोहीअनुसारका काम गरिरहेका छौँ ।’ विसं २०८४ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने र त्यसका लागि दुवै पार्टी तयारीका साथ अगाडि बढिसकेको उनको भनाइ थियो ।
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेत, एमाले भक्तपुर अध्यक्ष वचन देउजा, उपाध्यक्ष किरण थापा, संगठनका बाग्मती प्रदेश उपाध्यक्ष रञ्जन खड्कालगायतले सम्बोधन गरेका थिए ।








प्रतिक्रिया